अमेरिकामा पाइला, इक्वेडोरमा मुटु

- कविता : सोनिया गिन्यान्साका
- अनुवाद : विनाेदविक्रम केसी
पर्खालप्रेमी, आप्रवासीद्वेषी अनि एलजीबीटीक्यू प्लस समुदाय–निन्दक मिस्टर ट्रम्पले सोनिया गिन्यान्साकालाई कथम् पढे भने के गर्लान् ? क्षुद्र, भद्दा र अश्लील टिप्पणी गर्लान् । अरु त के गर्लान् र ?
तर, होइन, आप्रवासीका लागि दिनदिनै झन्–झन् डरमर्दो बन्दै गइरहेको अमेरिका र यस महाशक्तिका सनकी राष्ट्रपतिले जे पनि गर्न सक्छन् ।
सोनियालाई मूलथलो इक्वेडोरतिरै धपाउन सक्छन् ।
‘खेदिनलायक’ सबै योग्यता छन्, सोनियाँसँग ।
उनी प्रवासी हुन् । ‘क्विर’ हुन् । सबैभन्दा डरलाग्दो कुरो, आप्रवासीका हकाधिकार स्थापनार्थ आन्दोलनरत/लडाइँमग्न कवि/लेखक हुन् ।
पाँच वर्षको उमेरमा सोनियाको इक्वेडोरबाट अमेरिका प्रवेश भएको थियो । ‘अनडकुमेन्टेड इमिग्रेन्ट’ (अवैध आप्रवासी) का रुपमा अमेरिका छिरेका ‘उनीहरू’ (अर्थात् सोनिया) पछि सबैभन्दा ठूलो अवैध आप्रवासी संस्थाको नेता पनि भए (एलजीबीटीक्यू प्लस समुदाय अङ्ग्रेजी सर्वनाम ‘ही’ वा ‘सी’ का सट्टा लैङ्गिक तटस्थता जनाउने बहुवचन सर्वनाम— ‘दे’— प्रयोग गर्न रूचाउँछ ) ।
सोनियाको कवितासङ्ग्रह ‘नस्टाल्जिया एन्ड बोर्डर्स’ सन् २०१६ मा प्रकाशित भयो । त्यसपछि उनीहरु’ आप्रवासीका जीवनका पीडा, दुःख र सङ्घर्षलाई असाध्यै चड्का स्वरले भन्ने कविका रुपमा प्रसिद्ध भए । सांस्कृतिक रणनीतिकार र सामाजिक न्याय अभियन्ताका हैसियतले ‘उनीहरू’ अहिले पनि आप्रवासीका अधिकार प्राप्तिनिम्ति कलात्मक आन्दोलनमा छन् ।
सोनियाले रेना ग्रान्देसँगको सहकार्यमा आप्रवासनसम्बन्धी महत्त्वपूर्ण किताब ‘समह्वेर वी आर ह्युमन’ (सन् २०२२) को सम्पादन पनि गरेका छन् । यसमा ‘अवैध आप्रवासी’ सर्जकका निबन्ध, कविता र कलाकृति सङ्कलित छन् ।
यहाँ अनूदित दुई कविता सोनियाको अघि उल्लिखित सङ्ग्रहमा छन् । मेरा मित्र लेखक उज्ज्वल प्रसाईंद्वारा नेपालीमा अनुवादहेतु चयनित यी कविता सायद आप्रवासी जिन्दगीका ‘मोन्टाज’ हुन् । स्मृति, वेदना, बेचैनी र सर्वकालीन सङ्घर्ष… अर्थात् आप्रवासनका सारा पक्ष तथा आयाम टाँस गरिएका दुई थान मोन्टाज !
छनलाई त सोनियाका पाइला अमेरिकामा छन्, तर मुटु चाहिं उतै इक्वेडोरतिर छ । प्रवासी हुनुको एउटा अर्थ सायद पाइला र मुटुको धेरथोर तालमेल नमिल्नु पनि हुँदो हो । – विनाेदविक्रम केसी
फोन कार्डहरु
१.
महासागर र जमिनको वारपार
एउटा फोन लाइनलाई अर्कोसँग
नाभिनालले झैं जोड्ने
यी ५ डलर, १० डलर, २० डलरका
वर्गाकार कार्डहरू फगत प्लास्टिक होइनन्
यी फोन कार्डका मुटु छन्, धड्कन छन्
२.
हामी बाँचेका छौं फोन लाइनमार्फत
नम्बरहरू थिच्नु, थिचिरहनुको
एउटा चक्रमार्फत
उतापट्टिको फोनमा हजुरआमा पर्खिरहेकी छिन्
पर्खिरहेका छन् स्मृतिहरू
जन्मदिनका शुभकामनाहरू
उसो त जन्मदिनको शुभकामना
प्रत्यक्ष भेटेर
अम्बाको केक खाँदै दिनुपर्ने हो
तर, हामी छौं यता
तिमी छौ उता
यतापट्टिको फोन लाइनमा हामी प्रतीक्षा गर्छौं
पे–फोनमार्फत प्रतीक्षा गर्छौं
तिम्रो आवाजको प्रतीक्षा गर्छौं
हामीसँग भएको जम्मा यत्ति हो
यही एउटा आवाज
मेरो बाबा तिमीलाई कुरिरहेका थिए
अहिले पनि कुरिरहेका छन्
३.
प्रियजनको नम्बर कसरी डायल गर्नु ?
जबकि औंलाहररू
असङ्ख्य स्मृति बुन्दा–बुन्दा थाकिसकेका छन्
प्रियजनलाई अन्तिम पल्ट भेटेयता
आवाज बदलिसकेको छ
उनीहरुको अनुपस्थितिले हड्डीहरू चकनाचुर भएका छन्
सुक्खा पल्टिएका छन् ओठहरू
बस, अनुहार बाँकी छ एउटा
भेउ पाउन, कि—
ती आफ्नाहरू अहिले कस्ता देखिंदा हुन्
सायद ऐना नहेर्नु नै मुनासिब हुन्छ
सायद पुराना स्मृति सम्हाल्दा–सम्हाल्दा
अत्यन्तै लज्जित भएका छौं हामी
४.
कानमा अहिले पनि गुन्जिरहन्छ
हजुरआमाको बोली
म भन्थें— हजुरआमा, त्यता इक्वेडरतिर के छ खबरखाबर ?
अर्को साल पक्का फर्कन्छु, हजुरआमा !
र, त्यसपछि
एउटा लामो विराम
उनले फोन उल्टोपाल्टो पारेको सुन्न सकिन्छ
कुन भागबाट बोल्ने, कुनबाट सुन्ने ?
उनी सम्झन खोज्दै थिइन्
यो फोन भन्ने प्रविधिसँग उति अभ्यस्त छैनन् मेरी
हजुरआमा
म यसलाई पुरानो ढर्रा, ‘वल्ड स्कुल’ भन्छु
कोही–कोही यसलाई गरिबी भन्छन्
हजुरआमाको मुलायम आवाजले
मलाई हुत्याउँछ बाल्यकालमा
जतिखेर उनी मलाई पिठ्युँमा बोक्थिन्
मेरो अनुहार उनको पिठ्युँमा जोतिन्छ
उनी फोन राख्छिन्
र, म उनका शब्दहरूलाई समातेको समात्यै हुन्छु
गरिरहन्छु प्रयत्न, कि— मेरा हात नफुस्किऊन्
हजुरआमासँग धीत मरून्जेल कुरा गर्न पाइँदैन कहिल्यै
५.
अब
फोन कार्डहरूसँग
धड्कन छैन
अहँ, छैन
ती त पसलमा
झुन्डिएका छन् यत्तिकै
जिस्काउँदै छन् मान्छेहरूलाई
ठीक यतिखेर बाबा छिरेका छन् भट्टी
कुन्नि किन हो !
उनी मुखैले खोल्छन् बोतल
हजुरआमासँग पुनः एक चोटि बात मार्न लालायित छन्
मलाई लाग्छ, उनी ठान्छन्
बियरको प्रत्येक बोतलले
उनलाई स्वर्गको नजिक पुर्याउँछ
आफ्नी आमाको नजिक पुर्याउँछ
घरको नजिक पुर्याउँछ
(म मनमनै कामना गर्छु, त्यस्तै होस् !)
६.
फोन यत्तिकै थन्किएको छ
(मेरो वालेटभित्र पासपोर्ट थन्किएझैं
डायल–सायलको टन्टै साफ !
बाबाको हत्केलामा विश्राममग्न छ, मेरी हजुरआमाको समाधि
यस्तो बेलामा समेत उनका हस्तरेखा
खडा गर्छन् सिमानाहरू
जो लगाउँछन् प्रतिबन्ध
स्वर्ग, हजुरआमा र घरको अति नजिक पुग्न
बाबा समात्न चाहन्छन् मेरो हात
तर, सान्त्वनाको लालसामा
हामी एकअर्कालाई हेरिरहन्छौं केवल
बाबा भन्छन्, म हजुरआमाजस्ती देखिन्छु, दुरूस्तै ।
प्रवासमा तिनीहरुले नभन्ने कुरा
पोलरोइड क्यामराले खिचेका पुराना तस्बिरहरू
कदापि पर्याप्त हुने छैनन्
आफ्ना हजुरबा–हजुरआमाका छायाकृति पहिल्याउन
लागिपर्छौ तिमी
जे–जति बचेका छन् पुराना तस्बिरमा
अथवा, समयले जे–जति बाँकी राखेको छ
सडाउन/गलाउन…
ती सबै खोज्न लागिपर्छौ तिमी
साँच्चै, कति वर्ष बितेछ प्रवासी भएर
५, १० वा २० वर्ष
२० वर्ष भएछ
ठ्याक्कै २० वर्ष !
ती २० वर्षमा
तिमीलाई आफ्नो उच्चारण लुकाउन भनियो
जिब्रो सिलाउन भनियो
ताकि तिम्रो मुखबाट नझरुन् अनौठा शब्दहरु
तिमीलाई आफ्नो व्यवहार सुधार्न भनियो
ताकि गोरा जिससले तिमीलाई स्विकारुन्
ताकि वकिलहरुले तिमीलाई सहयोग गरुन्
तिनीहरुले तिमीलाई
नङले खोस्रेर घरको जरो निकाल्नू भने
चुल्ठो काट्नू भने
तिनीहरूले तिमीलाई
झन्डाप्रति बफादार हुनेछु भन्ने प्रतिज्ञा गर्न लगाए
कथम् तिमीले मानेनौ भने
तिमीलाई छिन्नभिन्न पार्न कुनै कसर बाँकी राखिने छैन
तिमीलाई हेक्का दिलाइने छ, कि—
तिमीजस्ता मान्छेहरू यो देशमा रहन लायक छैनौ
बाबा भन्ने गर्थे, तिनीहरूले तिम्रो सफलता
तिमी कति तीक्ष्ण हुन सक्छौ भन्ने आधारमा मापन गर्छन्
त्यसैले तिमीले प्रयत्न गर्यौ
असङ्ख्य किताब पढ्यौ
मूल्य–मान्यताका शब्दभण्डारका पछि–पछि दौडिरह्यौ
तर, तिमीले विरासतमा पाएको मुखका लागि
यी शब्द असाध्यै गोरा छन्
समुदायका नेताहरु भन्छन्, कानुनले तिमीलाई अभिप्राय दिने छ
अतः तिमी भन्न थाल्ने छौ
हो, सर ! म दक्ष कामदार हुँ
हो, सर ! म यो देशलाई योगदान गर्न सक्छु
छैन, सर ! मैले कुनै अपराध गरेको छैन
हामीलाई भड्काइन्छ एकअर्काविरूद्ध ।
तिमी सम्झन्छौ
तिम्री आमाले झन्डै सिमाना पार गर्न नसकेको कुरा
अथवा, कुनै कानुनको मस्यौदा तयार हुँदै गर्दा
उनी छुटेको कुरा
र, यस पटक पनि
उनी स्वास्थ्य सेवाको प्याकेजमा समेटिन असफल हुने छिन्
पत्रकार सम्मेलनमा सम्झने छैन कसैले उनलाई
उनलाई त टुक्रा–टुक्रामा, खण्ड–खण्डमा
गरिने छ विच्छेदित
अनुसन्धान, अनुसन्धान र अनुसन्धान गरिने छ उनीमाथि
उनी कति प्रतिशत यो देशकी होइनन् भन्ने बारे
प्रकाशित हुनेछ प्रतिवेदन
यिनै हुन्
प्रवासमा तिमीलाई
तिनीहरुले नभन्ने कुरा ।


जवाफ लेख्नुहोस्