म किन कम्युनिस्ट बनेँ ?

- पाब्लो पिकासो
कम्युनिस्ट पार्टीमा मेरो आबद्धता, मेरो जीवन र कामका लागि एउटा स्वाभाविक कदम हो, जसले यिनलाई पूर्णता दिन्छ । रेखा र रङका माध्यमबाट मैले संसार र मानिसलाई धेरै गहिराइबाट बुझ्ने प्रयास गरें, ताकि यो ज्ञानले हामीलाई स्वतन्त्र बनाउन सकोस् । मैले आफ्नै शैलीमा सधैँ त्यही कुरा भनेको छु जसलाई मैले सत्य, न्यायपूर्ण र उत्तम ठानेँ, र त्यसैले ती कुराहरू सुन्दर पनि भए ।
तर दमन र विद्रोहको समयमा त्यति मात्र पर्याप्त थिएन भन्ने कुरा मैले महसुस गरेँ । मैले केवल चित्रकलाबाट मात्र होइन, बरु आफ्नो सम्पूर्ण अस्तित्वका साथ लड्नुपर्ने थियो । यसअघि एक प्रकारको ‘अबोधपन’ का कारण मैले यो कुरा बुझेको थिइन । म कम्युनिस्ट बनेको हुँ किनभने हाम्रो पार्टीले संसारलाई चिन्न र निर्माण गर्न, अनि मानिसहरूलाई अझ प्रष्ट विचारक, स्वतन्त्र र सुखी बनाउन अन्य कुनै पनि शक्तिले भन्दा बढी सङ्घर्ष गर्दछ ।
म कम्युनिस्ट यसकारण बनेको हुँ किनभने फ्रान्स, सोभियत संघ र मेरो आफ्नै देश स्पेनमा कम्युनिस्टहरू नै सबैभन्दा साहसी छन् । पार्टीमा आबद्ध भएदेखि मैले आफूलाई पहिलेभन्दा धेरै स्वतन्त्र र पूर्ण महसुस गरेको छु । जबसम्म स्पेनले मलाई पुनः स्वीकार गर्ने समय आउँदैन, तबसम्मका लागि फ्रान्सेली कम्युनिस्ट पार्टी नै मेरो मातृभूमि हो । यहाँ मैले मेरा सबै साथीहरूलाई फेरि पाएको छु — महान् वैज्ञानिकहरू पल ल्यान्जेभिन र फ्रेडरिक जोलियट–क्युरी, महान् लेखकहरू लुइस एरागन र पल एलुआर्ड, अनि पेरिसका विद्रोहीहरूका ती अनगिन्ती सुन्दर अनुहारहरू । म फेरि आफ्ना दाजुभाइहरूको बीचमा आइपुगेको छु ।
अक्टोबर १९४४


जवाफ लेख्नुहोस्