info@bampanththeleft.com

Bampanth The Left

#

नवउदारवादसँग लड्न उपयाेगी हतियार मार्क्सवाद हो

  • यानिस भारुफाकिस

(विश्वप्रसिद्ध वाम चिन्तक तथा अर्थशास्त्री यानिस भारुफाकिसले सन् २०१३ मा सम्पन्न छैटौं सवभर्सिव फेस्टिवलमा लामो व्याख्यान दिएका थिए । त्यो व्याख्यानको एक अंशलाई सम्पादन र अनुवाद गरि हामीले यहाँ प्रकाशन गरेका छौं ।)

जब मैले सन् १९८२ मा पीएचडीको विषय रोजेँ, मैले जानीजानी गणित सम्बन्धी विषय छनोट गरेको थिएँ, जहाँ मार्क्सका विचारहरू सान्दर्भिक थिएनन् । पछि जब मैले मूलधारका अर्थशास्त्र विभागहरूमा प्राध्यापकको रूपमा काम सुरु गरेँ, म र ती विभागहरूबीचको एउटा भित्री सम्झौता जस्तै के थियो भने मैले त्यस्तो आर्थिक सिद्धान्त पढाउनेछु जहाँ मार्क्सका लागि कुनै ठाउँ हुनेछैन । सन् १९८० को दशकको अन्त्यतिर, मलाई सिड्नी विश्वविद्यालयको अर्थशास्त्र विभागले एकजना वामपन्थी उम्मेदवारलाई रोक्नका लागि जागिर दिएको थियो (यद्यपि मलाई त्यो बेला यो कुरा थाहा थिएन) ।


सन् २००० मा ग्रीस फर्केपछि, मैले भविष्यका प्रधानमन्त्री जर्ज पापान्ड्रेउलाई साथ दिएँ । मेरो आशा थियो कि उनले दक्षिणपन्थी शक्तिलाई सत्तामा आउनबाट रोक्न मद्दत गर्नेछन्, जसले ग्रीसलाई देश भित्र र बाहिर दुवैतिर संकुचित राष्ट्रवाद (xenophobia) तर्फ धकेल्न चाहन्थ्यो । अहिले सारा संसारलाई थाहा छ, पापान्ड्रेउको पार्टीले त्यो संकुचित राष्ट्रवादलाई रोक्न असफल मात्र भएन, बरु कठोर आर्थिक नीतिहरू लागू गर्यो जसले अन्त्यमा एथेन्सका सडकहरूमा नाजीहरूको पुनरागमन गरायो । यद्यपि मैले सन् २००६ को सुरुमै पापान्ड्रेउको सल्लाहकारबाट राजीनामा दिएको थिएँ र सन् २००९ पछिको संकटमा उनको सरकारको कडा आलोचक बनेको थिएँ, तर ग्रीस र युरोपको बारेमा मेरा सार्वजनिक अभिव्यक्तिहरूमा मार्क्सवादको कुनै गन्ध थिएन ।


यो सब सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ, म आफूलाई किन मार्क्सवादी भन्छु भनेर । तर वास्तविकता के हो भने कार्ल मार्क्स बाल्यकालदेखि आजसम्मको मेरो संसार हेर्ने दृष्टिकोण बनाउन जिम्मेवार छन् । यो यस्तो कुरा हो जसको बारेमा म सभ्रान्त समाज (polite society) मा अक्सर कुरा गर्दिनँ किनभने मार्क्सवाद भन्ने शब्द सुन्नासाथ मानिसहरू सुन्न छोडिदिन्छन् । तर म यसलाई कहिल्यै अस्वीकार पनि गर्दिन । मसँग विचार नमिल्ने मानिसहरूका माझ केही वर्ष बोलेपछि, मलाई मेरो सोचमा मार्क्सको प्रभावको बारेमा कुरा गर्ने इच्छा जागेको छ । म किन एक कट्टर मार्क्सवादी हुँदाहुँदै पनि कतिपय कुरामा उनको कडा विरोध गर्नु आवश्यक ठान्छु भन्ने कुरा यहाँ बुझाउन चाहन्छु । अर्को शब्दमा भन्नुपर्दा, आफ्नो मार्क्सवादमा ‘अस्थिर’ (erratic) हुनु ।


यदि मेरो सम्पूर्ण प्राज्ञिक करियरले मार्क्सलाई बेवास्ता गर्यो र मेरा वर्तमान नीतिगत सुझावहरूलाई मार्क्सवादी भन्न सकिँदैन भने, अहिले आएर मार्क्सवादको कुरा किन गर्ने ? यसको उत्तर सरल छः मेरो गैर–मार्क्सवादी अर्थशास्त्र पनि मार्क्सबाट प्रभावित सोचद्वारा नै निर्देशित थियो ।
मेरो विचारमा, एक क्रान्तिकारी सामाजिक चिन्तकले मूलधारको अर्थशास्त्रलाई दुई तरिकाले चुनौती दिन सक्छ । एउटा तरिका हो ‘अन्तर्निहित आलोचना’ (immanent criticism) । अर्थात्, मूलधारका मान्यताहरूलाई स्वीकार गर्ने र त्यसपछि यसका आन्तरिक विरोधाभासहरूलाई उजागर गर्ने । अर्थात् यस्तो भन्नु “म तपाईंका मान्याताहरूलाई चुनौती दिन्नँ, तर तपाईँकै निष्कर्षहरू तपाईँका मान्यताहरूबाट तर्कसंगत रूपमा मेल खाँदैनन् ।” वास्तवमा मार्क्सले बेलायती राजनीतिक अर्थशास्त्रलाई कमजोर बनाउन यही विधि प्रयोग गरेका थिए । उनले एडम स्मिथ र डेभिड रिकार्डोका सबै मान्यताहरू स्वीकार गरे ताकि उनीहरूकै मान्यताका आधारमा पुँजीवाद एक विरोधाभासी प्रणाली हो भनेर देखाउन सकियोस । दोस्रो तरिका भनेको स्थापित सिद्धान्तहरूको सट्टामा नयाँ वैकल्पिक सिद्धान्तहरू बनाउनु हो ।


सत्तामा रहेकाहरू आफूभन्दा फरक मान्यताबाट सुरु हुने सिद्धान्तहरूबाट कहिल्यै डराउँदैनन् भन्ने दुविधामा मेरो दृष्टिकोण सधै रह्यो । मूलधारका अर्थशास्त्रीहरूलाई हल्लाउन सक्ने एउटै कुरा भनेको उनीहरूकै मोडलभित्रको असंगति देखाइदिनु हो । त्यसैले मैले सुरुदेखि नै मूलधारको सिद्धान्तको भित्र पसेर अध्ययन गर्ने निर्णय गरेँ र वैकल्पिक मार्क्सवादी मोडलहरू बनाउनमा शक्ति खर्च गरिन । मेरा कारणहरू काफी हदसम्म मार्क्सवादी नै थिए ।


जब मलाई हाम्रो संसारको बारेमा टिप्पणी गर्न भनिन्छ, मसँग मार्क्सवादी परम्परामा फर्कनु बाहेक अर्को विकल्प हुँदैन । मेरो बुबा (जो एक धातुकर्मी हुनुहुन्थ्यो) ले म सानै छँदा मलाई प्रविधिको विकासले इतिहासमा पार्ने प्रभावको बारेमा सिकाउनुभएको थियो । उदाहरणका लागि, काँस्य युगबाट फलाम युगमा प्रवेश गर्दा इतिहास कसरी गतिमान भयो; फलामको आविष्कारले कसरी ऐतिहासिक समयलाई तीव्र बनायो; र सिलिकनमा आधारित सूचना प्रविधिले कसरी सामाजिक–आर्थिक परिवर्तनलाई तीव्र बनाइरहेको छ ।


मार्क्सका लेखहरूसँग मेरो पहिलो भेट जीवनको सुरुवातमै भयो । म हुर्केको समय अनौठो थियो, त्यतिबेला ग्रीस सन् १९६७–७४ को तानाशाही शासनबाट भर्खरै मुक्त भएको थियो । मलाई मार्क्सको लेखनमा मानव इतिहासको नाटकीय चित्रण र त्यसभित्रको मुक्ति र आध्यात्मिक सम्भावनाले आकर्षित गर्यो ।


मार्क्सले एउटा यस्तो कथा बनाए जसमा मजदुर, पुँजीपति, कर्मचारी र वैज्ञानिकहरू इतिहासका पात्रहरू थिए । उनीहरूले मानवतालाई सशक्त बनाउन तर्क र विज्ञानको प्रयोग गर्ने संघर्ष गरे, तर उनीहरूको इच्छा विपरीत, उनीहरूले नै यस्ता दानवीय शक्तिहरूलाई जन्म दिए जसले उनीहरूकै स्वतन्त्रता र मानवतालाई कुल्चियो ।


यो द्वन्द्वात्मक दृष्टिकोण जहाँ हरेक कुराभित्र त्यसको उल्टो कुरा लुकेको हुन्छ, त्यसले मलाई पुँजीवादी युगका ठूला विरोधाभासहरू बुझ्न मद्दत गर्यो । यसले एउटै युगमा एकातिर अत्यासलाग्दो सम्पत्ति र अर्कोतिर चरम गरिबी कसरी सँगै हुन्छ भन्ने कुरा स्पष्ट पारिदियो । आज युरोपेली संकट, अमेरिकाको संकट वा जापानी पुँजीवादको मन्दीलाई हेर्दा धेरैजसो विश्लेषकहरूले आफ्नो अगाडि भइरहेको यो द्वन्द्वात्मक प्रक्रियालाई बुझ्न सकेका छैनन् । उनीहरू ऋणको पहाड र बैंकको घाटा त देख्छन्, तर त्यही सिक्काको अर्को पाटो देख्दैनन्‌ः डरले गर्दा ‘फ्रिज’ भएर बसेको बचतको पहाड, जुन उत्पादनमूलक लगानीमा परिवर्तन हुन सकेको छैन । मार्क्सवादी चेत भएको भए उनीहरूको आँखा खुल्न सक्थ्यो ।
स्थापित विचारधाराले समकालीन यथार्थलाई बुझ्न नसक्नुको मुख्य कारण के हो भने उनीहरूले ऋण र बचत, वृद्धि र बेरोजगारी, धन र गरिबी, अनि असल र खराबबीचको द्वन्द्वात्मक सम्बन्धलाई कहिल्यै बुझेनन् । मार्क्सको लेखनले हामीलाई यी विरोधाभासहरू नै इतिहासको चालक शक्ति हुन् भनेर सचेत गराएको थियो ।


एक अर्थशास्त्रीको रूपमा सोच्न सुरु गरेदेखि आजसम्म, मार्क्सले एउटा यस्तो खोज गरेका थिए जुन पुँजीवादको विश्लेषणका लागि सधैँ केन्द्रमा रहनुपर्छ भन्ने कुराको महसुस भएको छ । त्यो खोज थियो मानव श्रम भित्रको गहिरो विरोधाभास । श्रमका दुई फरक प्रकृतिका बीचको विरोधाभासः १) नयाँ मूल्य सिर्जना गर्ने एक यस्तो मानवीय क्रियाकलाप जसलाई पहिले नै मात्रामा नाप्न सकिँदैन (र त्यसैले यसलाई पूर्ण रूपमा सामान जस्तै बनाउन असम्भव छ), र २) एक मात्रा (जस्तै काम गरेको घण्टा) जुन बिक्रीका लागि उपलब्ध हुन्छ र जसको मूल्य हुन्छ । यही कुराले श्रमलाई बिजुली जस्ता अन्य उत्पादनका साधनहरूभन्दा फरक बनाउँछ । यो भिन्नता र विरोधाभासलाई मार्क्सभन्दा अगाडिका अर्थशास्त्रीहरूले वास्ता गरेनन् र आजका मुख्यधारका अर्थशास्त्रीहरूले पनि यसलाई स्वीकार गर्न मानिरहेका छैनन् ।


बिजुली र श्रम दुवैलाई वस्तु (commodity) को रूपमा सोच्न सकिन्छ । वास्तवमा, रोजगारदाता र मजदुर दुवै श्रमलाई वस्तु बनाउन संघर्ष गर्छन् । मालिकहरूले श्रमलाई नाप्न र मेसिन जस्तै बनाउन आफ्नो सबै बुद्धि लगाउँछन् । अर्कोतर्फ, जागिर खोज्नेहरूले पनि आफ्नो क्षमतालाई नाप्न मिल्ने एकाईको रूपमा प्रस्तुत गर्न आफ्नो बायोडाटा पटक–पटक लेख्छन् । तर समस्या यहीँ छ । यदि मजदुर र मालिकहरूले श्रमलाई पूर्ण रूपमा सामान बनाउन सफल भए भने पुँजीवाद नै समाप्त हुनेछ । यो यस्तो गहिरो मर्मबोध हो जुन बिना पुँजीवादले किन पटक–पटक संकट उत्पन्न गर्छ भन्ने कुरा पूर्ण रूपमा बुझ्न सकिँदैन । र मार्क्सको विचार पढेको मानिस बाहेक अरू कसैले यो कुरा बुझ्न सक्दैन ।


सन् १९५३ को प्रसिद्ध फिल्म ’इन्भेजन अफ द बडी स्न्याचर्स’ (Invasion of the Body Snatchers) मा एउटा एलियनले मान्छेमाथि सीधै आक्रमण गर्दैन । बरु, उसले मानिसहरूलाई भित्रैदेखि कब्जा गर्छ, जबसम्म उनीहरूको मानवीय भावना र आत्मा बाँकी रहँदैन । उनीहरूको शरीर एउटा खोक्रो भाँडो जस्तो मात्र हुन्छ, जसमा पहिले स्वतन्त्र इच्छा हुन्थ्यो तर अब उनीहरू केवल मेसिन जस्तै काम गर्छन् । उनीहरू मानिस जस्तै त देखिन्छन् तर उनीहरूमा मानव प्रकृतिको त्यो खास गुण हुँदैन जसलाई नाप्न सकिँदैन । यदि मानव श्रमलाई पूर्ण रूपमा ‘मानवीय पुँजी’ मा बदल्न सकिने र अर्थशास्त्रीहरूका पुराना मोडलहरूमा अटाउन सकिने भए, हाम्रो अवस्था पनि यस्तै हुने थियो ।


मार्क्सवाद बाहेकका हरेक आर्थिक सिद्धान्तहरूले मानिस र मेसिनलाई एउटै डालोमा राखेर हेर्छन् । उनीहरूले मानिसको श्रमलाई पूर्ण रूपमा मानवीय भावना रहित वस्तु मान्छन् । तर यदि मानिसको श्रमलाई साँच्चै भावना रहित बनाइयो भने, पुँजीवाद नै समाप्त हुनेछ । कल्पना गर्नुहोस्, एउटा यस्तो समाज जहाँ सबै मानिसहरू मेसिन जस्तै छन् । यो एउटा घडी जस्तै हुनेछ जसमा साना–साना पाटपूर्जाहरूले मिलेर ‘समय’ देखाउँछन् । तर यदि त्यो समाजमा अनुभव गर्ने मानिस नै छैनन् भने, ‘समय’ को के अर्थ रह्यो र ? वास्तविक मानिस बिना कुनै पनि कुरा ‘राम्रो’ वा ‘नराम्रो’ हुन सक्दैन ।


पुँजीवादले सधैँ श्रमलाई नाप्न र सामान जस्तै बनाउन खोज्छ । तर यसो गर्दा उसले श्रम भित्र रहेको त्यो मानवीय स्वतन्त्रतालाई निचोरेर फाल्छ, वास्तवमा त्यसैले मूल्यको सिर्जना गर्ने हो । मार्क्सको एउटा महत्वपूर्ण बुझाइ यही थियो — पुँजीवादले श्रमलाई जति धेरै वस्तु बनाउन खोज्छ, उत्पादनको मूल्य उति नै घट्दै जान्छ, नाफाको दर कम हुन्छ र अन्त्यमा आर्थिक मन्दी आउँछ । मार्क्सले मानवीय स्वतन्त्रतालाई एउटा आर्थिक पाटोको रूपमा हेर्नुभयो, जसले गर्दा आर्थिक वृद्धि भइरहेको बेला पनि अचानक आर्थिक संकटमा पर्छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।
मार्क्सले श्रमलाई ‘जीवित र आकार दिने आगो’ भनेर भनेका थिए । उनले पुँजीलाई एउटा यस्तो शक्तिको रूपमा चित्रण गरे जसले सबै सीमाहरू भत्काउँछ र आफूलाई मात्र सर्वोपरी ठान्छ । पैसाले श्रमलाई किन्न त सक्छ, तर श्रम गर्ने मानिससँग सधैँ एउटा यस्तो इच्छाशक्ति हुन्छ जुन मालिकको इच्छा विपरित हुन सक्छ । मार्क्सले यो कुरा केवल मनोविज्ञान वा दर्शनको लागि मात्र भनेका होइनन् । उनले के बुझाउन खोजेका थिए भने जब श्रम (काम) मेसिन जस्तै निर्जीव हुन्छ, तब यसले नयाँ मूल्य सिर्जना गर्न सक्दैन ।


आजका ‘नवउदारवादी’हरूले धेरै मानिसहरूलाई आफ्नो जालमा पारेका छन् । उनीहरू सधैँ ‘उत्पादकत्व बढाउने’ र ‘प्रतिस्पर्धा गर्ने’ कुरा मात्र गरिरहन्छन् । तर मार्क्सको विश्लेषणले यसको सही ओखती दिन्छ । पुँजीवादले मानिसलाई पूर्ण रूपमा मेसिन बनाउन कहिल्यै सक्दैन, किनभने त्यसो गर्दा उसले आफैँलाई विनाश गर्छ । यो कुरा न नवउदारवादीहरूले बुझ्छन्, न त किन्सियन (Keynesians) अर्थशास्त्रीहरूले । मार्क्सले लेखेका छन् — “यदि मेसिनले सबै मजदुरहरूलाई विस्थापित गरिदियो भने, त्यो पुँजीका लागि कति भयानक हुनेछ ! किनभने मजदुर बिना पुँजी ‘पुँजी’ नै रहँदैन ।”


अहिलेका धेरैजसो विचारधाहरूले मार्क्सको योगदानलाई पुरानो भइसकेको भन्दै बेवास्ता गर्न खोज्छन् । तर म यसमा सहमत छैन । मार्क्सले मलाई नवउदारवादको गलत प्रचारबाट बच्ने हतियार दिएका छन् । उदाहरणका लागि, धेरैलाई के लाग्छ भने सम्पत्ति व्यक्तिको निजी प्रयासबाट बन्छ र सरकारले करको नाममा त्यो खोस्छ । तर मार्क्सले यसको ठीक उल्टो कुरा बुझाएका छन् — सम्पत्ति सामूहिक रूपमा (समाजद्वारा) सिर्जना गरिन्छ, तर समाजका केही नियम र गलत चेतनाका कारण त्यसलाई व्यक्तिगत रूपमा कब्जा गरिन्छ ।


इतिहासकार फिलिप मिरोस्कीले आफ्नो पुस्तकमा नवउदारवादीहरूले कसरी मानिसहरूलाई ‘बजार नै सबै कुरा हो’ भनेर विश्वास दिलाएका छन् भन्ने कुरा उल्लेख गरेका छन् । उनीहरूका अनुसार सामूहिक काम वा सरकारी संस्थाहरूले कहिल्यै सही काम गर्न सक्दैनन्, बरु निजी स्वार्थले चल्ने बजारले नै सबै कुरा ठीक गर्छ । यसको सबैभन्दा नराम्रो उदाहरण जलवायु परिवर्तनको बहस हो । नवउदारवादीहरू के भन्छन् भने यसलाई सुधार्न पनि बजारकै प्रयोग गर्नुपर्छ, किनभने बजारलाई मात्र मूल्य तोक्न आउँछ । यस्ता समाधानहरू किन असफल हुन्छन् भन्ने बुझ्न मार्क्सको सिद्धान्त बुझ्न जरुरी छ ।


२०औँ शताब्दीमा मार्क्सको नाममा दुईवटा ठूला आन्दोलनहरू भए — कम्युनिस्ट र सामाजिक लोकतन्त्रवादी । यी दुवै आन्दोलनहरुमा एउटा ठूलो गल्ती भयो । उनीहरूले ‘स्वतन्त्रता’ र ‘तर्क’ लाई भन्दा ‘समानता’ र ‘न्याय’ लाई बढी जोड दिए । यसले गर्दा ‘स्वतन्त्रता’ भन्ने शब्द नवउदारवादीहरूको पेवा जस्तो बन्यो । मार्क्सको विचारमा पुँजीवादको मुख्य समस्या यो ‘अन्यायपूर्ण’ हुनु मात्र होइन, बरु यो ‘अतार्किक’ (ष्चचबतष्यलब)ि हुनु हो । यसले कयौँ पुस्तालाई गरिबी र बेरोजगारीमा धकेल्छ र पुँजीपतिहरूलाई समेत डरमा बाँच्ने रोबोट बनाउँछ । पुँजीपतिहरूलाई सधैँ के डर हुन्छ भने यदि उनीहरूले मानिसहरूलाई मेसिन जस्तै प्रयोग गरेनन् भने, उनीहरू आफैँ सकिनेछन् । त्यसैले, पुँजीवाद अन्यायपूर्ण देखिनुको कारण यसले सबैलाई दास बनाउँछ र प्राकृतिक स्रोतहरूको विनाश गर्छ ।


मार्क्सले भने जस्तै स्वतन्त्रता र तर्कको आधारमा पुँजीवादको आलोचना गर्न नसक्दा, वामपन्थीहरूले नवउदारवादीहरूलाई स्वतन्त्रताको पक्षधर बन्ने मौका दिए । यसको सबैभन्दा ठूलो असर हाम्रो लोकतन्त्रमा परेको छ । विगत तीन दशकमा लोकतन्त्र कमजोर भएकोमा धेरैले चिन्ता व्यक्त गरेका छन् । तर मार्क्सले यसमा कत्ति पनि अचम्म मान्ने थिएनन् । १९औँ शताब्दीको उदारवादको मुख्य उद्देश्य नै ‘अर्थतन्त्र’ लाई ‘राजनीति’ बाट अलग गर्नु थियो । अर्थात्, राजनीतिमा सबैको अधिकार हुने तर अर्थतन्त्रमा केवल पुँजीपतिहरूको मात्र अधिकार हुने । आज हामीले यही देखिरहेका छौँ । दक्षिण अफ्रिकाको उदाहरण हेर्नुहोस् — नेल्सन मण्डेला जेलमुक्त भएपछि राजनीतिमा सबैको पहुँच पुग्यो, तर अर्थतन्त्रमा उनीहरूको अधिकार रहेन । यदि तपाईँलाई यो कुरामा शंका लाग्छ भने, ती खानी मजदुरहरूलाई सोध्नुहोस् जसले तलब बढाउन माग गर्दा मालिकका सुरक्षाकर्मीहरूबाट गोली खानुपर्यो ।

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari