विश्वव्यापी उथलपुथलकाे समयमा मार्क्सकाे स्मरण

- डा. अरूण मित्र
वर्तमान विश्वव्यापी उथलपुथलले हामीलाई कार्ल मार्क्सका विचारहरू पुनः मनन गर्न बाध्य बनाइरहेको छ, जसको पूँजीवादप्रतिको आलोचना आज पनि उत्तिकै सान्दर्भिक र प्रखर देखिन्छ । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलको पछिल्लो आक्रामकताले समकालीन साम्राज्यवादलाई निर्देशित गर्ने चरम लोभलाई पुनः छर्लङ्ग पारेको छ । यसको भित्री मनसाय स्पष्ट छः पश्चिम एसियाको विशाल प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण जमाउनु । यो त्यस्तो क्षेत्र हो जहाँ विश्वको आधाभन्दा बढी परम्परागत तेल भण्डार केन्द्रित छ—विशेष गरी साउदी अरब, इरान, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतमा ।
जलवायु परिवर्तनको सामना गर्न विश्व नवीकरणीय ऊर्जातर्फ मोडिन खोजिरहेको बेला पनि शक्तिशाली निगमहरू वातावरणीय परिणामको बेवास्ता गर्दै जीवाश्म इन्धनकै पछि लागिरहेका छन् । यो विरोधाभासले पुँजीवादको अन्तर्निहित चरित्रलाई प्रष्ट पार्छः जहाँ नाफा कमाउने होडले पारिस्थितिक दिगोपन र मानव कल्याणलाई सधैं ओझेलमा पार्ने गर्छ ।
मानवीय संकट र अन्तर्राष्ट्रिय विधिको उल्लंघन
गाजामा जारी मानवीय संकटले यो कठोर यथार्थलाई थप उजागर गर्छ । इजरायलको सैन्य कारबाहीका कारण २०,००० भन्दा बढी बालबालिका सहित ठूलो संख्यामा नागरिकहरूको ज्यान गएको छ । यस्तो हिंसाले विश्व राजनीतिमा अमानवीयकरण र दण्डहीनताको व्यापक प्रवृत्तिलाई झल्काउँछ, जहाँ अन्तर्राष्ट्रिय कानुन र संस्थाहरू प्रायः शक्तिशाली राष्ट्रहरूलाई नियन्त्रण गर्न असफल हुन्छन् । अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै गाजा बाहिरसम्म फैलिएका आक्रमणहरूले साम्राज्यवादी महत्वाकांक्षाबाट उत्पन्न हुने अस्थिरतालाई पुष्टि गर्छन् । अन्तर्राष्ट्रिय न्यायालय (ICJ) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले समेत गाजामा भएको नरसंहारका लागि नेतान्याहुलाई जिम्मेवार ठहर्याएका छन् ।
यी घटनाक्रमहरूले पुँजीवादको त्यो कुरूप अनुहार देखाउँछन्, जसले मानव जीवनभन्दा नाफालाई प्राथमिकता दिन्छ, पर्यावरणीय सन्तुलन बिगार्छ र कहिल्यै समाप्त नहुने द्वन्द्वलाई बढावा दिन्छ । मार्क्सले पहिले नै के चेतावनी दिएका थिए भने सञ्चय र प्रतिस्पर्धाबाट सञ्चालित पुँजीवादले समाज र प्रकृति दुवैलाई संकटमा पार्नेछ । आज यो चेतावनी पहिलेभन्दा झनै गम्भीर मोडमा पुगेको छ ।
सैन्यीकरण, असमानता र शोषण
भू–राजनीतिक प्रतिद्वन्द्व र आर्थिक स्वार्थको उपजका रूपमा रहेको विश्वव्यापी हतियारको होडले वातावरणीय विनाशमा ठूलो हिस्सा ओगटेको छ । मानव विकासमा खर्च गर्न सकिने स्रोतहरू सैन्यीकरणतर्फ मोडिएका छन् । परिणाम स्वरूप, विश्वमा असमानता, असुरक्षा र पारिस्थितिक संकट चुलिएको छ ।
यस्तो समयमा मानवतासामु नागरिक, मजदुर, किसान, महिला र अन्य सीमान्तकृत वर्गको अधिकारको रक्षा गर्दै जीवनकै अस्तित्व जोगाउनु ठूलो चुनौती बनेको छ । यसका लागि अनियन्त्रित नाफामा आधारित प्रणालीबाट हटेर न्याय, समानता र दिगो विकासमा आधारित व्यवस्थातर्फ लाग्नु अनिवार्य छ ।
मार्क्सवादले यी विरोधाभासहरूलाई बुझ्ने एउटा दार्शनिक आधार प्रदान गर्दछ । यसले सामाजिक असमानताको जड वर्ग शोषणमा रहेको बताउँछ र सचेत सामूहिक प्रयासबाट यसलाई बदल्न सकिने कुरामा विश्वास राख्छ । मार्क्सवादले सामाजिक प्रणालीलाई ऐतिहासिक प्रक्रियाको रूपमा हेर्छ — जसरी दासप्रथा र सामन्तवादको अन्त्य भई पुँजीवाद आयो, त्यसरी नै पुँजीवादको पनि अन्त्य भई समाजवाद र साम्यवादको स्थापना हुनेछ ।
आर्थिक एकाधिकार र क्षेत्रीय चुनौतीहरू
आज विश्वको धन केही मुठ्ठीभर सम्भ्रान्तहरूको हातमा केन्द्रित छ, जबकि ठूलो जनसंख्या आधारभूत अधिकार र आत्मसम्मानका लागि संघर्षरत छ । विकसित पुँजीवादी मुलुकहरू समेत असमानता र सामाजिक न्यायका समस्या सुल्झाउन असफल भएका छन् । विकासोन्मुख देशहरू शक्तिशाली राष्ट्रहरूको आर्थिक र राजनीतिक दबाबको चपेटामा छन् । कोभिड–१९ महामारी जस्तो स्वास्थ्य संकटमा समेत ठूला फर्मा कम्पनीहरूले खोप आपूर्ति गर्दा साना देशहरूलाई ‘ब्ल्याकमेल’ गरेको तथ्य जगजाहेर छ ।
भारतको सन्दर्भमा, बजारमुखी नीति र विशेष गरी अमेरिका जस्ता साम्राज्यवादी शक्तिको दबाबले बेरोजगारी, घट्दो ज्याला र शिक्षा एवं स्वास्थ्य जस्ता सेवामा पहुँचको अभाव सिर्जना गरेको छ । अमेरिकासँगको पछिल्लो व्यापार सम्झौताले भारतीय सरकारको कमजोरीलाई छताछुल्ल पारेको छ ।
निष्कर्ष
यस्तो परिस्थितिमा जनतामा बढ्दो असन्तोषलाई दबाउन सत्ताधारीहरूले दमन, छद्म–राष्ट्रवाद, इतिहासको अपव्याख्या र धर्म वा जातिको नाममा सामाजिक विभाजनको सहारा लिने गर्छन् । त्यसैले, पहिचानमा आधारित संघर्षहरूसँग जोडिँदै वर्ग राजनीतिलाई प्रमुखताका साथ अगाडि बढाउनु आवश्यक छ । मजदुर र किसानको एकता निर्माण गर्नु र नवउदारवादी पुँजीवादलाई चुनौती दिन वैकल्पिक वैचारिक भाष्य तयार पार्नु नै आजको आवश्यकता हो ।
आज मार्क्सलाई सम्झनु केवल एउटा बौद्धिक बहस मात्र होइन, यो एक राजनीतिक आवश्यकता हो । उहाँका विचारहरूले न्यायपूर्ण, समतामूलक र दिगो विश्वको मार्गलाई सधैं निर्देशित गरिरहनेछन् ।
(डा. अरुण मित्रा लुधियाना, पञ्जाबका एक अभ्यासरत नाक, कान तथा घाँटी (ENT) विशेषज्ञ हुनुहुन्छ । उहाँ ‘इन्डियन डक्टर्स फर पिस एण्ड डेभलपमेन्ट’ (IDPD) का अध्यक्ष पनि हुनुहुन्छ ।)


जवाफ लेख्नुहोस्