info@bampanththeleft.com

Bampanth The Left

#

हामीलाई मार्क्सवादी सिद्धान्त किन चाहिन्छ ?

  • क्रिस हर्मन


हामीलाई मार्क्सवादी सिद्धान्त किन चाहिन्छ ? हामीलाई सिद्धान्तको के काम ? हामीलाई थाहा छ – अहिले संकट छ । हामीलाई थाहा छ – हाम्रा मालिकहरूले हामीलाई लुटिरहेका छन् । हामीलाई थाहा छ – हामी सबै आक्रोशित छौँ । हामीलाई समाजवाद चाहिएको छ भन्ने पनि थाहा छ । बाँकी सबै कुरा त केवल बौद्धिकहरूका लागि मात्र हो ।


तपाईँले अक्सर जुझारू समाजवादी र ट्रेड युनियनकर्मीहरूबाट यस्तै शब्दहरू सुन्नुहुन्छ । यस्ता विचारहरूलाई समाजवाद विरोधीहरूले धेरै प्रोत्साहन दिन्छन्, जसले मार्क्सवादलाई एउटा अस्पष्ट, जटिल र पट्यारलाग्दो सिद्धान्तको रूपमा चित्रण गर्ने प्रयास गर्छन् । उनीहरू भन्छन् – समाजवादी विचारहरू ‘अमूर्त’ छन् । ती सिद्धान्तमा ठीक देखिएलान्, तर वास्तविक जीवनमा हाम्रो व्यावहारिक ज्ञानले अर्कै कुरा भन्छ ।
यस्ता तर्क गर्ने मानिसहरूको समस्या के हो भने, उनीहरूको आफ्नै एउटा ‘सिद्धान्त’ हुन्छ, चाहे उनीहरू त्यसलाई स्वीकार गरून् वा नगरून् । उनीहरूलाई समाजको बारेमा कुनै पनि प्रश्न सोध्नुहोस्, उनीहरूले कुनै न कुनै सामान्यीकरण गरेर उत्तर दिने प्रयास गर्छन् । जस्तैः “मानिसहरू स्वभावैले स्वार्थी हुन्छन”
“यदि कसैले पर्याप्त प्रयास गर्छ भने ऊ शिखरमा पुग्न सक्छ”
“यदि धनीहरू नहुने हो भने बाँकी मानिसहरूलाई काम दिनका लागि पैसा नै हुँदैनथ्यो”
“यदि हामीले मजदुरहरूलाई शिक्षित बनाउन सक्यौँ भने मात्र समाज परिवर्तन हुन्छ”
वा “नैतिकताको ह्रासले देशलाई यो अवस्थामा ल्याएको हो”
तपाईँले सडकमा, बसमा वा क्यान्टिनमा हुने कुनै पनि बहसमा यस्ता दर्जनौँ भनाइहरू सुन्नुहुनेछ । यी प्रत्येक भनाइमा समाज किन यस्तो छ र मानिसहरूले आफ्नो अवस्था कसरी सुधार्न सक्छन् भन्ने एउटा दृष्टिकोण लुकेको हुन्छ । यी सबै विचारहरू समाजका ‘सिद्धान्त’ नै हुन् ।
जब मानिसहरू भन्छन् – उनीहरूसँग कुनै सिद्धान्त छैन, त्यसको वास्तविक अर्थ के हो भने उनीहरूले आफ्ना विचारहरूलाई स्पष्ट पारेका छैनन् । समाज परिवर्तन गर्न चाहने जोसुकैका लागि यो असाध्यै खतरनाक हुन्छ । किनभने पत्रपत्रिका, रेडियो र टेलिभिजनले लगातार हाम्रो दिमागमा समाजको यो भद्रगोल अवस्थाका लागि विभिन्न ‘व्याख्याहरू’ भरिरहेका हुन्छन् । उनीहरू के चाहन्छन् भने, हामी यी मुद्दाहरूमा धेरै नसोची उनीहरूले भनेका कुराहरू स्वीकार गरौँ । तर जबसम्म तपाईँ यी विभिन्न तर्कहरूमा के गलत छ भनेर चिन्न सक्नुहुन्न, तबसम्म तपाईँ समाज परिवर्तनका लागि प्रभावकारी रूपमा लड्न सक्नुहुन्न ।


यो कुरा पहिलो पटक १५० वर्षअघि प्रमाणित भएको थियो । सन् १८३० र १८४० को दशकमा बेलायतको उत्तर–पश्चिम जस्ता क्षेत्रमा उद्योगको विकासले लाखौँ पुरुष, महिला र बालबालिकाहरूलाई अत्यन्तै कम ज्यालाको काममा धकेल्यो । उनीहरू अकल्पनीय रूपमा दयनीय अवस्थामा बस्न बाध्य थिए । उनीहरूले यसको विरुद्धमा पहिलो पटक विशाल मजदुर संगठनहरू — पहिलो ट्रेड युनियन र राजनीतिक अधिकारका लागि बेलायतको पहिलो आन्दोलन ‘चार्टिज्म’ सुरु गरे । यी आन्दोलनहरूसँगै समाजवाद प्राप्त गर्न समर्पित मानिसहरूका साना समूहहरू पनि बने । तत्कालै एउटा प्रश्न खडा भयो – मजदुर आन्दोलनले आफ्नो लक्ष्य कसरी प्राप्त गर्न सक्छ ?


केही मानिसहरूको भनाई कस्तो थियो भने शासकहरूलाई शान्तिपूर्ण माध्यमबाट परिवर्तनका लागि मनाउन सकिन्छ । एक विशाल र शान्तिपूर्ण आन्दोलनको ‘नैतिक शक्ति’ले मजदुरहरूलाई लाभ दिलाउने सुनिश्चिता गर्नेछ । लाखौँ मानिसहरू संगठित भए, प्रदर्शन गरे, तर अन्ततः उनीहरू पराजित र हतोत्साहित भए । अरूले ‘भौतिक शक्ति’को आवश्यकता महसुस गरे, तर उनीहरूलाई के लाग्यो भने, यो समाजबाट अलग रहेका साना र षड्यन्त्रकारी समूहहरूद्वारा प्राप्त गर्न सकिन्छ । यसले पनि हजारौँ मजदुरहरूलाई हार र निराशातर्फ डोर्‍यायो । अझ अरू केहीको विश्वास के थियो भने मजदुरहरूले सेना र प्रहरीसँग नझुक्की केवल आर्थिक कारबाही मार्फत आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् । सन् १८४२ मा बेलायतमा विश्वकै पहिलो आम हडताल भयो, जहाँ हजारौँ मजदुरहरू चार हप्तासम्म टिके, तर अन्ततः भोक र अभावका कारण काममा फर्कन बाध्य भए ।


मजदुर संघर्षको यो पहिलो चरणको पराजयको अन्त्यतिर, सन् १८४८ मा जर्मन समाजवादी कार्ल मार्क्सले आफ्नो पुस्तिका ‘कम्युनिस्ट घोषणापत्र’ मार्फत आफ्ना विचारहरू पूर्ण रूपमा प्रस्तुत गरे । उनका विचारहरू हावाबाट टिपिएका थिएनन् । उनले तत्कालीन मजदुर आन्दोलनले उठाएका सबै प्रश्नहरूको समाधान दिने प्रयास गरेका थिए । मार्क्सले विकास गरेका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । मार्क्सले १५० वर्षअघि लेखेका हुनाले ती पुराना भए भन्नु मूर्खता हो । वास्तवमा, मार्क्सले जुन सामाजिक धारणाहरू विरुद्ध तर्क गरेका थिए, ती आज पनि व्याप्त छन् । जसरी चार्टिस्टहरू ‘नैतिक शक्ति’ वा ‘भौतिक शक्ति’को बारेमा बहस गर्थे, आजका समाजवादीहरू ‘संसदीय मार्ग’ वा ‘क्रान्तिकारी मार्ग’को बारेमा बहस गर्छन् । क्रान्तिकारीहरूबीच पनि आतंकको पक्ष र विपक्षमा बहस उत्तिकै जीवन्त छ ।


मार्क्स समाजमा के गलत छ भनेर वर्णन गर्ने पहिला व्यक्ति थिएनन् । उनको समयमा नयाँ कारखाना र आविष्कारहरूले अघिल्ला पुस्ताले सोच्नै नसक्ने स्तरमा धन पैदा गरिरहेका थिए । पहिलो पटक मानवतासँग प्राकृतिक विपत्तिहरू विरुद्ध लड्ने साधन भएको देखिन्थ्यो । तर, यसको अर्थ बहुसंख्यक मानिसहरूको जीवनमा सुधार हुनु थिएन । ठ्याक्कै उल्टो, नयाँ कारखानामा काम गर्नेहरूको जीवन उनीहरूका हजुरबुबा–हजुरआमाको भन्दा धेरै खराब थियो । ज्यालाले पेट पाल्न मुस्किल थियो र बेरोजगारीको लहरले अवस्था झन् बेहाल बनाउँथ्यो । मानिसहरू सरसफाइ नभएका गन्हाउने बस्तीहरूमा कोचिएका थिए । सभ्यताको विकासले सुख ल्याउनुको सट्टा झन् बढी पीडा दिइरहेको थियो । यो कुरा मार्क्सले मात्र होइन, ब्लेक, शेली, फुरिए, प्रुधों, हेगेल र फायरबाख जस्ता विचारकहरूले पनि देखेका थिए ।


हेगेल र फायरबाखले मानवताको यो दुखी अवस्थालाई ‘अलगाव’ (Alienation) भनेका थिए । उनीहरूका अनुसार मानिसहरू आफ्नै विगतका कार्यहरूद्वारा शासित र उत्पीडित भइरहेका छन् । फायरबाखले औंल्याएका थिए — मानिसले ‘भगवान’को विचार विकास गरे र पछि त्यसैको अगाडि निहुरिए, आफूले बनाएको कुरा अनुसार बाँच्न नसक्दा दुखी महसुस गरे । समाज जति अगाडि बढ्यो, मानिसहरू त्यति नै ‘अलग्गिए’ र दुखी हुँदै गए । मार्क्सले यो ‘अलगाव’को अवधारणालाई समाजको सम्पत्ति सिर्जना गर्नेहरूको जीवनमा लागू गरे । उनले लेखेका छन् – मजदुर जति धेरै सम्पत्ति उत्पादन गर्छ, ऊ त्यति नै गरिब हुँदै जान्छ । वस्तुहरूको संसारको बढ्दो मूल्यसँगै मानिसहरूको अवमूल्यन हुन्छ । श्रमले उत्पादन गरेको वस्तुले उत्पादकलाई एउटा पराया शक्तिको रूपमा सामना गर्दछ ।


मार्क्सको समयमा समाजको समस्यालाई धार्मिक रूपमा व्याख्या गरिन्थ्यो । समाजको पीडा मानिसहरूले भगवानको आज्ञा पालन नगरेकाले भएको हो भनिन्थ्यो । आज पनि यस्तै सुनिन्छ — ‘समाज परिवर्तन गर्न पहिले आफूलाई परिवर्तन गर’ । यदि मानिसहरूले स्वार्थ वा भौतिकवाद त्याग्ने हो भने समाज आफैँ राम्रो हुन्छ भन्ने दाबी गरिन्छ । यस्तै अर्को विचारले सत्तामा भएका केही मुख्य व्यक्तिहरूलाई परिवर्तन गर्ने कुरा गर्छ । धनी र शक्तिशालीहरूलाई ‘विवेक’ सिकाउने प्रयास गरिन्छ । रोबर्ट ओवेन जस्ता पहिलो छिमलका ब्रिटिश समाजवादीहरूले उद्योगीहरूलाई आफ्ना मजदुरहरूप्रति दयालु हुन मनाउने प्रयास गरे । यही विचार आज लेबर पार्टीका नेताहरूमा पनि देखिन्छ । उनीहरू रोजगारदाताका अपराधलाई ‘गल्ती’ भन्छन्, मानौँ अलिकति बहस गरेपछि ठूला व्यापारीहरूले समाजमाथिको आफ्नो पकड छोडिदिनेछन् ।


मार्क्सले यस्ता विचारलाई ‘आदर्शवादी’ भने । किनभने यस्ता विचारले मानिसको जीवनस्तरलाई बेवास्ता गरेर विचारलाई मात्र अलग रूपमा हेर्छन् । मानिसका विचारहरू उनीहरूको जीवनको अवस्थासँग जोडिएका हुन्छन् । स्वार्थलाई नै हेरौँ — वर्तमान पुँजीवादी समाजले स्वार्थ पैदा गर्छ । आफ्ना सन्तान वा अभिभावकका लागि राम्रो गर्न चाहने मजदुरले पनि अर्कोसँग निरन्तर प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यस्तो समाजमा व्यक्तिको मन बदलेर मात्र स्वार्थ हटाउन सकिँदैन । माथिल्लो तहका मानिसहरूको विचार बदलेर समाज बदल्ने कुरा त झन् हास्यास्पद छ । यदि कुनै ठूलो मालिकले समाजवादी विचार अपनाएर मजदुरलाई शोषण गर्न छोड्यो भने ऊ अरू मालिकसँगको प्रतिस्पर्धामा टिक्न सक्दैन र व्यवसायबाट बाहिरिन्छ ।


यदि विचारले समाज परिवर्तन गर्छ भने ती विचार आउँछन् कहाँबाट ? हामी एक प्रकारको समाजमा बस्छौँ । सञ्चारमाध्यम र शिक्षा प्रणालीले त्यही समाजको रक्षा गर्ने विचार फैलाउँछन् । कसैले कसरी बिल्कुलै फरक विचार विकास गर्न सक्छ ? किनभने उनीहरूको दैनिक अनुभव समाजका आधिकारिक विचारहरूसँग बाझिन्छ । उदाहरणका लागि, आज मानिसहरू पहिलेभन्दा कम धार्मिक हुनुको कारण नास्तिकताको प्रचार मात्र होइन । मानिसहरूले किन ती कुरा सुन्न थाले भन्ने कुरा उनीहरूको जीवनको अवस्थाले व्याख्या गर्छ । त्यसैले मार्क्सले जोड दिएका थिए — “यो चेतना होइन जसले अस्तित्व निर्धारण गर्दछ, बरु सामाजिक अस्तित्व हो जसले चेतना निर्धारण गर्दछ ।”

(लेखक, पत्रकार तथा मार्क्सवादी राजनीतिक कार्यकर्ता क्रिस हर्मनको १९७९मा प्रकाशित पुस्तक ज्यध :बचहष्कm ध्यचपक को पहिलो च्याप्टरको अनुदित अंश )

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari