फासीवादीहरूले किन ट्रेड युनियनहरूलाई घृणा गर्छन् ?

- क्रिस बम्बेरी
जहाँ–जहाँ फासीवादले सत्ता हातमा लिएको छ, त्यहाँ ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाइएको छ । धेरै ट्रेड युनियनकर्मीहरूले जेल र उत्पीडन भोग्नुपरेको छ । यो हिटलरको जर्मनी, मुसोलिनीको इटाली र फ्रान्कोको स्पेनमा सत्य साबित भएको थियो ।
यसको कारण सरल छ । फासीवादले समाजको हरेक कुरालाई राज्यको पूर्ण नियन्त्रणमा खुम्च्याउँछ । सबै कुरा राज्यको एजेन्डा मुनि हुन्छन् । ट्रेड युनियनहरू कामदार मानिसहरूका आधारभूत रक्षा इकाइहरू हुन्, जसले रोजगारी, ज्याला र कामका सर्तहरूको रक्षा गर्छन् । ट्रेड युनियनहरू कामदारहरूको हितको रक्षा गर्ने स्वतन्त्र संस्थाहरू हुन् भन्ने कुरा फासीवादले सहन सक्दैन ।
हिटलर र मुसोलिनीले सत्तामा आउनुअघि समाज वर्गहरूमा विभाजित छैन, बरु राष्ट्रको हित नै सर्वोपरी हुन्छ र यसले सबैलाई एकताबद्ध गर्छ भन्ने तर्क गर्थे । उनीहरूको के दाबी थियो भने, नयाँ साम्राज्यहरूको निर्माण र हिटलरको हकमा विश्वव्यापी प्रभुत्वसँगै जर्मनी र इटालीको उदयबाट सबैजना लाभान्वित हुनेछन् ।
जब उनीहरूले जनसमर्थन जुटाए (जसमा वामपन्थीहरू विरुद्ध परिचालन गरिएका अर्धसैनिक टोलीहरू पनि सामेल थिए), उनीहरूले राष्ट्रको हितमा काम नगर्ने वित्तपोषक र उद्योगपतिहरूको आलोचना गरे । तर त्यो आलोचना वामपन्थी र ट्रेड युनियनहरूमाथिको आक्रमणको तुलनामा सहायक मात्र थियो । जर्मनीमा हिटलरले यहूदी बैंकर र व्यवसायीहरूलाई निशाना बनाए र वाल स्ट्रिट, लन्डन शहर र सोभियत रूस, यहूदी विश्वव्यापी षड्यन्त्रका मुख्य आधार भएको दाबी गरे ।
सत्ता सम्हालेपछि हिटलर र मुसोलिनी दुवैले ठूला व्यापारीहरू लगायतका शासक वर्गसँग सम्झौता गरे । हिटलरका उप–प्रमुख रुडोल्फ हेसले बैंकर र उद्योगपतिहरूको एक बैठकमा भनेका थिएः
“महोदयहरू, यहाँ तपाईंसँग विनाशकारी शक्तिहरू छन्, जुन तपाईंका लेखा शाखाहरू, तपाईंका कारखानाहरू र तपाईंका सबै सम्पत्तिहरूका लागि खतरनाक खतरा हुन् । अर्कोतर्फ, अशान्तिको भावनालाई जरैदेखि उखेल्ने कट्टर इच्छाशक्ति भएका व्यवस्थाका शक्तिहरू बनिरहेका छन् ।”
जर्मनीमा रोजगारदाताहरू सन् १९२९ को वाल स्ट्रिट क्र्यास (आर्थिक मन्दी), जर्मनीमा बैंकहरूको असफलता र अर्थतन्त्रको वास्तविक पतनको प्रभावबाट थलिएका थिए । तिनीहरू ज्याला र कल्याणकारी खर्च कटौती गर्न, युनियनहरू नष्ट गर्न र मध्य तथा पूर्वी युरोपका बजारहरूलाई भौतिक रूपमा कब्जा गर्न चाहन्थे । त्यसका लागि उनीहरू नाजीहरूको ‘एन्टी–सेमिटिज्म’ (यहूदी विरोधी धारणा) नरसंहारमा परिणत हुँदा पनि साथ दिन तयार भए । वामपन्थी दलहरूलाई गैरकानूनी घोषणा गरेपछि, नाजीहरूले तुरुन्तै स्वतन्त्र ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाउन, तिनीहरूको सम्पत्ति जफत गर्न र सदस्यहरूलाई सताउन थाले ।
इटालीका फासीवादीहरूले सन् १९२० र १९२२ को बीचमा मुसोलिनीले सत्ता हातमा नलिउन्जेल युनियनहरू विरुद्ध युद्ध छेडे, ट्रेड युनियनका कार्यालयहरू जलाए र युनियनकर्मीहरूलाई कुटपिट र यातना दिए । प्रमुख औद्योगिक केन्द्र टुरिनमा, फासीवादी टोलीहरूले मुसोलिनी सत्तामा आएको खुसीयाली ट्रेड युनियन कार्यालयहरूमा आक्रमण गरेर र २२ जना युनियनकर्मीहरूको हत्या गरेर मनाए ।
नाजी जर्मनीमा नाजीहरूले सबै ट्रेड युनियनहरूलाई गैरकानूनी बनाए । ज्याला कटौती र कमजोर कार्यस्थलका सर्तहरूबाट ठूला व्यापारीहरूले स्वाभाविक रूपमा फाइदा उठाए ।
आजका फासीवादीहरू हिटलर र मुसोलिनीका आन्दोलनका बाहिरी स्वरूपहरूबाट बच्न सतर्क छन्, तर तिनीहरूका उद्देश्यहरू उस्तै छन् । सबैभन्दा बढी उनीहरू के तर्क गर्छन् भने सबै बेलायतीहरू एउटै राष्ट्रका हिस्सा हुन्; अर्थात् सबै गोरा बेलायतीहरू । यदि यी मानिसहरूले सत्ता पाए भने, उनीहरूले हाम्रा अस्पताल, विद्यालय, रेलवे र कार्यस्थलहरूबाट हाम्रा गैर–गोरा दाजुभाइ–दिदीबहिनीहरूलाई बाहिर निकाल्नेछन् र हामीलाई एक–अर्काको विरुद्धमा खडा गर्ने प्रयास गर्नेछन् । तिनीहरू हाम्रो खर्चमा फेरि ठूला व्यापारिक घरानाहरूसँग सम्झौता गर्नेछन् र हाम्रा ट्रेड युनियनहरूमाथि खनिनेछन्, किनभने युनियनहरूले जातिवाद विरोधी अडान राख्छन् ।
इङ्ग्लिस डिफेन्स लिग, फुटबल ल्याड्स एलायन्स र अन्य फासीवादी समूहहरूको विरोध गर्नका पछाडी सबै ट्रेड युनियनकर्मीहरूको महत्त्वपूर्ण हित लुकेकाे छ ।
तर जब हामी ट्रेड युनियन र फासीवादको कुरा गर्छौं, त्यहाँ प्रतिरोधको एउटा परम्परा पनि छ जसलाई हामीले सम्मान गर्नुपर्छ । ५ मार्च १९४३ मा, टुरिनको विशाल फियट मिराफियोरी कार कारखानाका कामदारहरू हडतालमा उत्रिए । जब तानाशाहीले हडताललाई दबाउन नसक्ने स्पष्ट भयो, यो उत्तरी इटालीभर फैलियो, जसमा एक लाख कामदारहरू सहभागी भए । मुसोलिनी ज्याला वृद्धि र राम्रो रासन दिन बाध्य भए, तर यो कुरा स्वीकार गर्दा उनले आफ्नो शासनको अन्त्यको घण्टी बजाए ।
सन् १९६० को दशकमा स्पेनमा मुख्यतया कम्युनिस्ट कार्यकर्ताहरूले ‘वर्कर्स कमिसन’ नामक नयाँ युनियन महासंघ बनाए, जुन तल्लो तहदेखि निर्माण गरिएको थियो । यसले धेरै हडतालहरू सुरु गर्यो र नोभेम्बर १९७५ मा फ्रान्कोको मृत्यु नजिकिँदै गर्दा ती हडतालहरू थप राजनीतिक बने । कामदार वर्गको आक्रोशको विशाल स्तरले स्पेनी सम्भ्रान्त वर्गलाई तानाशाही अन्त्य गर्नैपर्छ भन्ने कुरामा विश्वस्त तुल्यायो ।
ती यस्ता परम्पराहरू हुन् जसमा टेकेर हामीले आज नाजीहरू विरुद्ध लड्न सक्छौं ।
(क्रिस बाम्बरी एक लेखक, राजनीतिक कार्यकर्ता र टिप्पणीकार हुन्, र स्कटल्यान्डको क्रान्तिकारी वाम गठबन्धन ‘राइज’ (Rise) का समर्थक हुन्। उनका पुस्तकहरूमा ‘अ पिपल्स हिस्ट्री अफ स्कटल्यान्ड’ र ‘द सेकेन्ड वर्ल्ड वार: अ मार्क्सिस्ट एनालाइसिस’ पर्दछन्।)


जवाफ लेख्नुहोस्