info@bampanththeleft.com

Bampanth The Left

#

संसारभरिका ‘जेन-जी’ विद्रोहहरू किन असफल भए ?

  • अहमद हुसेन

जेन जी विद्रोहहरूले सत्तालाई चुनौती त दिए, तर तिनीहरूले प्रणालीगत शोषणलाई परिवर्तन नगरीकन केवल सम्भ्रान्त वर्ग (एलिट्स) लाई मात्र किन विस्थापित गरे भन्ने कुरा मार्क्सले व्याख्या गर्छन् । उत्तरवर्ती पुँजीवाद (late capitalism) को वर्तमान युगमा अत्यधिक असमानता, असुरक्षित श्रम, कर्पोरेट शक्ति र राजनीतिक अलगाव घट्नुको सट्टा झन् तीव्र भएको छ ।


कार्ल मार्क्सको महत्त्व भौतिक सम्बन्ध, वर्गीय शक्ति र शोषणको माध्यमबाट समाजको विश्लेषण गर्ने उनको पद्धतिमा निहित छ । उत्तरवर्ती पुँजीवाद मार्क्सको आलोचनाभन्दा माथि उठ्न सकेको छैन; यसले उल्टै उनका धेरै केन्द्रीय अन्तर्दृष्टिहरूलाई पुष्टि गरेको छ ।
मार्क्सले इतिहासलाई केवल विचारहरूमा मात्र केन्द्रित गरेर बुझ्न नसकिने कुरामा जोड दिएका थिए । सामाजिक यथार्थ, आर्थिक संरचना र वर्गहरू बीचको द्वन्द्वद्वारा निर्माण हुन्छ । ‘कम्युनिस्ट घोषणापत्र’मा उनले यस दाबीलाई निकै स्पष्ट रूपमा प्रस्तुत गर्दै लेखेका छन्, “अहिलेसम्म अस्तित्वमा रहेका सम्पूर्ण समाजको इतिहास वर्गीय संघर्षको इतिहास हो ।” यो भनाइ आज पनि उत्तिकै गुञ्जायमान छ किनकि यसले ध्यान व्यक्तिगत नेताहरूबाट हटाएर राजनीतिक प्रणालीहरूमा कायम रहने शक्तिको अन्तर्निहित सम्बन्धतर्फ आकर्षित गर्दछ ।

श्रम, शोषण र अतिरिक्त मूल्य
मार्क्सको आलोचनाको केन्द्रमा श्रमको शोषण रहेको छ । उनको विश्लेषण अनुसार, पुँजीवाद मुख्य रूपमा पाशविक बलमा आधारित हुँदैन, बरु यो एउटा यस्तो विनिमय प्रणालीमा निर्भर गर्दछ जुन बाहिरबाट हेर्दा न्यायसंगत देखिन्छ तर भित्रभित्रै गहिरो असमानता पैदा गरिरहेको हुन्छ । श्रमिकहरूले ज्याला त पाउँछन्, तर उनीहरूले सिर्जना गरेको मूल्य उनीहरूलाई दिइने भुक्तानीभन्दा बढी हुन्छ । यो अतिरिक्त मूल्य उत्पादनका साधनहरूमाथि स्वामित्व जमाउनेहरूले हडप्छन् ।


‘पुँजी’ (Capital) मा मार्क्सले यो सम्बन्धलाई स्मरणीय रूपमा व्यक्त गर्दै पुँजीलाई “मृत श्रम, जसले पिशाच (vampire) जस्तै जीवित श्रम चुसेर मात्र जीवन धान्छ” भनी वर्णन गरेका छन् । यो बिम्ब जानाजानी विचलित पार्ने खालको राखिएको हो, जसले एउटा संरचनात्मक यथार्थलाई उजागर गरोस् । पुँजीले आफैं मूल्य सिर्जना गर्दैन । यो मानव श्रमबाट मूल्य निचोरेर सञ्चित हुन्छ । यो सन्दर्भ आजको गिग काम (gig work), प्लेटफर्म अर्थतन्त्र र डिजिटल निगरानीको युगमा पनि उत्तिकै सान्दर्भिक छ, जहाँ श्रम खण्डित त छ तर शोषण उस्तै कायम छ ।

मार्क्सले यो प्रक्रियाले श्रमिकलाई कसरी रूपान्तरण गर्छ भन्ने कुरामा पनि जोड दिएका छन् । इकोनोमिक एन्ड फिलोसोफिक म्यानुस्क्रिप्ट्स् अफ 1844 मा उनले पुँजीवाद अन्तर्गत श्रमिक आफ्नाे श्रम र आफू स्वयं दुवैबाट क्रमशः अलग्गिँदै (विमुख हुँदै) जान्छ भनी तर्क गरेका छन् । अनुवादहरू फरक–फरक हुन सक्छन्, तर यसको मूल विचार भनेको के हो भने पुँजीवाद अन्तर्गतको श्रमले मानवीय गतिविधिलाई आत्म–बोधको माध्यम बनाउनुको सट्टा केवल बाँच्ने साधनमा संकुचित गरिदिन्छ । उत्तरवर्ती पुँजीवादले जीवनका लगभग हरेक पक्षमा वस्तुकरणलाई विस्तार गरेर यो अलगावलाई अझ सघन बनाएको छ ।

असमानता र कानुनी समानताको भ्रम
समकालीन विश्वको एउटा प्रमुख विशेषता भनेको धनी र गरिब बीचको बढ्दो खाडल हो । औपचारिक कानुनी समानता त छ, तर भौतिक असमानता झन् गहिरिँदै गएको छ । केवल अधिकारले मात्र आर्थिक प्रभुत्वलाई परास्त गर्न सक्दैन भन्ने विषयमा मार्क्स स्पष्ट थिए । ‘पुँजी’ मा उनले के टिप्पणी गरेका छन् भने जब कानुनको दायराभित्र प्रतिस्पर्धी दाबीहरू समान देखिन्छन्, तब “शक्तिले नै फैसला गर्छ ।” उनको उद्देश्य हिंसाको महिमामण्डन गर्नु थिएन, बरु धन नै शक्तिमा रूपान्तरण हुने समाजमा कानुनी ढाँचाहरूका सीमिततालाई उजागर गर्नु थियो ।
यो अन्तर्दृष्टिले परोपकारी प्रयासहरू र गैर–सरकारी संस्थाहरू महत्त्वपूर्ण भए तापनि तिनले किन प्रणालीगत अन्यायलाई समाधान गर्न सक्दैनन् भन्ने कुरा बुझ्न मद्दत गर्दछ । तिनीहरूले कारणको सट्टा लक्षणहरूको मात्र उपचार गर्छन् । मार्क्सको आलोचनाले ध्यान पुनः स्वामित्व, नियन्त्रण र अतिरिक्त मूल्यको वितरणतर्फ नै मोडिदिन्छ । यी जगहरूलाई चुनौती नदिई, नीतिगत सुधारहरू गरिए पनि असमानता आफैं पुनरुत्पादित भइरहन्छ ।

युवा विद्रोह र सम्भ्रान्त वर्गको निरन्तरता
विश्वभरि, मुख्य रूपमा युवा पुस्ताद्वारा सञ्चालित आन्दोलनहरू भ्रष्टाचार, अधिनायकवाद र आर्थिक वहिष्करणको विरुद्धमा ओर्लिएका छन् । यी विद्रोहहरूले गहिरो निराशा र अलगावकाे भावना व्यक्त गर्छन् । यद्यपि, यीमध्ये धेरैजसोको परिणाम सम्भ्रान्त वर्गको सामान्य अदल–बदलमा मात्र सीमित भएको छ । राजनीतिक नेताहरू बदलिन्छन्, तर आर्थिक संरचनाहरू यथावत रहन्छन् ।


मार्क्सले यो समस्याको पूर्वानुमान गरेका थिए । ‘कम्युनिष्ट घोषणापत्र’ मा उनले आधुनिक राज्यले “बुर्जुवा वर्गका साझा मामिलाहरू व्यवस्थापन गर्ने एउटा समिति” को रूपमा काम गर्छ भनी तर्क गरेका थिए । जब क्रान्तिहरू आर्थिक शक्तिलाई रूपान्तरण नगरी केवल राजनीतिक नेतृत्वमा मात्र केन्द्रित हुन्छन्, तब तिनले नयाँ अनुहारहरू अन्तर्गत पुरानै पदानुक्रम (hierarchy) लाई पुनः स्थापित गर्ने जोखिम रहन्छ । यसले समकालीन समयका धेरै विद्रोहहरू युवाहरूले अन्तर्निहित रूपमा खोजेको गहिरो सामाजिक निकास दिन किन असफल हुन्छन् भन्ने कुरा स्पष्ट पार्छ ।

संस्कृति, अनुरूपता र फ्रयाङ्कफर्ट स्कूल
मार्क्सले आर्थिक संरचनाहरूको विश्लेषण गरिरहँदा, फ्रयाङ्कफर्ट स्कूलले संस्कृति र विचारधाराले पुँजीवादी समाजलाई कसरी स्थिरता प्रदान गर्छन् भन्ने कुराको अध्ययन गर्‍यो । बीसौं शताब्दीका रचनाहरुमा, म्याक्स होर्खाइमर र थियोडोर अडोर्नो जस्ता चिन्तकहरूले उन्नत पुँजीवादी समाजहरूले विद्रोहको सट्टा किन अनुरूपता (conformity) पैदा गरे भन्ने कुरा बुझ्न खोजेका थिए ।


डायलेक्टिक अफ इनलाइटनमेन्ट मा उनीहरूले ‘सांस्कृतिक उद्योग’ (culture industry) को अवधारणा विकास गरे र के तर्क गरे भने लोकप्रिय संस्कृतिले व्यक्तिहरूलाई मुक्त गर्नुको सट्टा निष्क्रिय बनाउँछ । उनीहरूले लेखेका छन्, “सांस्कृतिक उद्योगले आफ्ना उपभोक्ताहरूलाई जुनसुकै कुराको पनि निरन्तर प्रतिज्ञा गरेर सधैं झुक्याइरहन्छ ।” मनोरञ्जनले आनन्द, ध्यानभंग र व्यक्तिगत पहिचानको आभास त दिन्छ, तर यसले सामाजिक परिस्थितिहरूमाथि आलोचनात्मक चिन्तन गर्न निरुत्साहित गर्दछ ।


यो अन्तर्दृष्टि उत्तरवर्ती पुँजीवादलाई बुझ्नका लागि अत्यन्त महत्त्वपूर्ण छ । आक्रोश र असहमतिलाई प्राय मिडिया चक्र, अनलाइन पर्फमेन्सहरू र उपभोक्ता पहिचानभित्रै समाहित गरिन्छ । यसरी विरोध एउटा तमासा बन्न पुग्छ, जसलाई वस्तुकरणले सजिलै निस्तेज पारिदिन्छ ।

उपभोग र एक–आयामी समाज
हर्बर्ट मार्कुजले वान–डाइमेन्सनल म्यान मा यसै आलोचनालाई अगाडि बढाउँदै उपभोक्ता समाजले चेतनालाई नै कसरी नयाँ रूप दिन्छ भन्ने कुरामा आफ्नाे तर्कलाई केन्द्रित गरेका छन् । उनले गरेको तर्क कस्तो छ भने उन्नत औद्योगिक समाजहरूले प्रभुत्वलाई बलियो बनाउने गरी आवश्यकताहरू पूरा गरेर विरोधको स्वरलाई आफूभित्रै समाहित गर्छन् । उनको सबैभन्दा बढी उद्धृत गरिने अवलोकनमध्ये एकले यो गतिशीलतालाई समात्छः “मानिसहरूले आफ्ना वस्तुहरूमा आफूलाई फेला पार्छन् ; उनीहरूले आफ्नाे कार, हाई–फाई सेट, आधुनिक घर र भान्साका उपकरणहरूमा आफ्नाे आत्मा फेला पार्छन् ।”
यद्यपि यी उदाहरणहरू पुराना भइसकेका छन्, तर यसको पछाडिको तर्क आज पनि उत्तिकै सान्दर्भिक छ । पहिचानको निर्माण झन्‌–झन् उपभोगको माध्यमबाट भइरहेको छ । राजनीतिक असन्तुष्टिलाई जीवनशैलीको छनोट, ब्रान्डिङ र व्यक्तिगत अभिव्यक्तितर्फ मोडिदिइन्छ । यसले व्यापक असन्तोषका बीच पनि संरचनात्मक आलोचनाले किन गति लिन सक्दैन भन्ने कुरा बुझ्न सघाउँछ ।

स्वतन्त्रताको भ्रम
एरिक फ्रोमले मनोवैज्ञानिक दृष्टिकोणबाट यस्तै प्रश्नहरूलाई हेरेका छन् । एस्केप फ्रम फ्रीडम मा उनले के तर्क गर्छन् भने आधुनिक व्यक्तिहरू अक्सर वास्तविक स्वतन्त्रताबाट भागेर अनुरूपता र आत्मसमर्पणतर्फ लाग्छन् । उनले भनेका छन्, “आधुनिक मानिस स्वतन्त्रताको भ्रममा बाँचिरहेको छ ।” मानिसहरूले विकल्पहरूको अनुभव त गर्छन्, तर उनीहरूको जीवन आर्थिक आवश्यकता, प्रतिस्पर्धा र असुरक्षाद्वारा निर्देशित हुन्छ ।


यो भ्रमले उत्तरवर्ती पुँजीवादलाई टिकाउन महत्त्वपूर्ण भूमिका खेल्छ । व्यक्तिहरूलाई सफलता र असफलतालाई व्यक्तिगत उपलब्धि वा दोषको रूपमा हेर्न प्रोत्साहित गरिन्छ, जसले परिणामहरू निर्धारण गर्ने संरचनात्मक अवस्थाहरूलाई ओझेलमा पार्छ । विचारधारामाथिको मार्क्सको आलोचना र चरित्र संरचनामाथिको फ्रोमको विश्लेषण यसै विन्दुमा आएर जोडिन्छन् ।

प्रगति, विवेक र अदृश्य हिंसा
वाल्टर बेन्जामिनले प्रगतिको रेखीय अवधारणाको कडा आलोचना गरे । आफ्नाे थिसिस अन द फिलोसोफी अफ हिस्ट्री मा उनले चेतावनी दिँदै लेखेका छन्, “सभ्यताको यस्तो कुनै दस्तावेज छैन जुन साथसाथै बर्बरताको दस्तावेज पनि नहोस् ।” आर्थिक वृद्धि र प्राविधिक नवीनता प्राय गरेर शोषण र वहिष्करणमा निर्भर हुन्छन् । उत्तरवर्ती पुँजीवादले अभूतपूर्व सम्पत्ति र व्यापक असुरक्षालाई एकैसाथ मिलाएर यसै अन्तर्विरोधको प्रतिनिधित्व गर्दछ ।


होर्खाइमरले इक्लिप्स अफ रिजन मा यस आलोचनालाई थप बल पुर्‍याउँदै कस्तो तर्क गर्छन् भने “विवेक एउटा औजार (instrument) बनेको छ ।“ तार्किकता केवल हिसाब–किताब र कार्यकुशलतामा संकुचित भएको छ, जसले मुक्तिको सट्टा नाफाको सेवा गर्छ । यो उपकरणवादी विवेकले बाहिरबाट तटस्थ देखिने तर भित्रभित्रै प्रभुत्वलाई पुनरुत्पादित गरिरहने प्रणालीहरूलाई वैधता प्रदान गर्छ ।

मार्क्स किन अपरिहार्य छन् ?
मार्क्स भविष्यको सटीक भविष्यवाणी गरेका कारणले नभइ पुँजीवादी समाजको अन्तर्निहित गतिशीलतालाई उजागर गरेका कारण आज पनि सान्दर्भिक छन् । उनको विश्लेषणले असमानता किन कायम रहन्छ, राजनीतिक परिवर्तन प्राय गरेर किन सतही साबित हुन्छ र शोषण हराउनुको सट्टा किन आफूलाई अनुकूल बनाउँदै जान्छ भन्ने कुराको व्याख्या गर्छ ।


फ्रयाङ्कफर्ट स्कूलले संस्कृति, मनोविज्ञान र विचारधाराले आर्थिक शक्तिलाई कसरी सुदृढ बनाउँछन् भन्ने देखाएर यो बुझाइलाई अझ गहिरो बनाउँछ । यी दुवैलाई सँगै राखेर हेरियो भने उत्तरवर्ती पुँजीवादले किन एकातिर तीव्र असन्तुष्टि र अर्कोतिर अचम्मको स्थिरता पैदा गर्छ भन्ने कुराको विश्लेषण गर्ने एउटा बलियो खाका प्रदान गर्छन् ।

मार्क्सले कुनै सरल जवाफ वा तयारी खाका दिँदैनन् । उनले जे दिन्छन्, त्यो स्पष्टता हो । जबसम्म शोषण आर्थिक संरचनाहरूमा गाभिएको हुन्छ र संस्कृति तथा उपभोगको आवरणमा लुकेको हुन्छ, तबसम्म उनको आलोचना अपरिहार्य रहनेछ । जगलाई रूपान्तरण नगरी केवल अनुहारहरू मात्र परिवर्तन गर्दा सीमान्तकृतहरू सधैं यस्तो भविष्यको पर्खाइमा रहनेछन् जुन कहिल्यै आउँदैन । (डेल्टाग्राम अनलाइनबाट)

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari