info@bampanththeleft.com

Bampanth The Left

#

भूमि समस्याको समाधान र समाजवादी दृष्टिकोण

  • नहेन्द्र खड्का

भूमिसम्बन्धी दृष्टिकोणहरु

सबैभन्दा अगाडि भूमि सम्बन्धबारे हाम्रो दृष्टिकोणलाई राम्रोसँग बुझ्नुपर्छ । हामीले मूलभूत रुपमा दुईवटा दृष्टिकोण देख्छौं । एउटा दृष्टिकोणले भूमिलाई विशुद्ध रुपमा निजी सम्पत्तिका रुपमा लिन्छ । मानिसहरुले दुःखजिलो गरेर कमाउछन्, जसले कमायो ठिक छ, जसले कमाएन उसले पनि त्यसै गरेर कमाउनुपर्छ । यो दृष्टिकोण आदर्शवादसँग पनि जोडिन्छ । भगवानले दिए पायो, नपाउनेले अर्को जन्ममा पाउँछ भन्छ । अर्थात् यो दृष्टिकोणले भूमिलाई विशुद्ध निजी सम्पतिका रुपमा लिन्छ । यो सामन्तवादी र पुँजीवादी दृष्टिकोण हो ।


अर्को दृष्टिकोण भनेको भूमि उत्पादनको साधन हो, यो प्रकृति प्रदत्त सम्पदा हो, प्राकृतिक स्रोत हो । प्रकृतिले दिएको स्रोत हो, त्यसैले यो निजी होइन । त्यसकारण यसमाथि सबैको समान हक छ, सबैको समान अधिकार छ । यो उत्पादनको साधन भएका कारण जो कृषि उत्पादनको काममा सहभागी हुँदैन उसको कृषि भूमि माथिको स्वामित्व हुनु हुँदैन । जसले खेती गर्न चाहन्छ, उसले कृषि भूमिको उपयोग गर्न पाउनुपर्छ । यहाँ दुईवटा शब्दहरु राख्न चाहन्छु । एउटा शब्द हो ‘स्वामित्व’ । सबै ठाउँमा ‘स्वामित्व’ जरुरी छ ? छैन, पुँजीवादी व्यवस्थामा अहिले लालपुर्जा छ, लालपुर्जाले स्वामित्व दिन्छ त्यसकारण स्वामित्वको कुरा आएको हो । तर समाजवादी क्रान्ति भइसकेपछि हामी भोगाधिकारको कुरा गर्छौं, स्वामित्वको कुरा गर्दैनौं । किनभने त्यो अवस्थामा निजी स्वामित्वको समग्रतामा उन्मूलन हुँदा नेपाल जस्तो कृषिमा आधारित देशमा पहिले भूमिमाथिको स्वामित्व उन्मूलन हुनुपर्छ ।


समाजवादीहरुका लागि भूमि एक प्रकृति प्रदत्त सम्पदा हो । त्यसैले यो निजी सम्पत्ति होइन । यसमाथि सबैको अधिकार छ । अर्को विषय, यो उत्पादनको साधन हो । नेपाल जस्तो कृषि प्रधान देशमा, जहाँ किसानहरुको बाहुल्यता छ, त्यहाँ भूमि उत्पादनको मुख्य साधन हो । आवास सबैका लागि हुनुपर्छ । कृषि भूमि चाहिँ खेती गर्नेहरुका लागि मात्रै हुनुपर्छ । यसै सन्दर्भमा ‘जसको जोत उसको पोत’ भन्ने नारा पनि जोडिन्छ र यहाँ सुरुमा विषयको उठान पनि भयो र यो नारा सारभूत रुपमा सही छ । अनि यो सँगसँगै आएको ‘घर कसको पोत्नेको’ भन्ने नारा खासमा यो कम्युनिस्ट आन्दोलनको नारा होइन, संघर्षलाई उठाउँदा आएको नारा हो । हामी आवासको अधिकारबाट बाहिर (बञ्चित) छौँ । आवासको अधिकार मौलिक हक हो, हुनुपर्छ । तर हाम्रो नारा फेरि त्यही रुपमा, जुन घर पोत्यो त्यही घर आफ्नो हुने भन्ने होइन, हरेकको पोत्नका लागि आफ्नो घर हुनुपर्छ । यसरी बुझौं समाजवादी दृष्टिकोणबाट । वास्तवमा हामीले चाहेको त्यही हो ।


भूमि भनेको खेत मात्रै होइन, घडेरी मात्रै होइन । कृषि प्रधान देश जहाँ झन्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित छ, उसको मुख्य उत्पादनको साधन हो । मानिसको जीवन मोटामोटी रुपमा दुईवटा विषयहरुसँग गएर जोडिन्छ, एउटा भौतिक उत्पादन, अर्को सन्तान उत्पादन । सहजतापूर्वक बाँच्न भौतिक उत्पादन, दोस्रो चाहिँ आफ्नो पुस्तालाई अगाडि बढाउनलाई प्रजनन । त्यो मध्ये भौतिक उत्पादनको अधिकांश चिजहरु भूमिसँगै जोडिएका हुन्छन् । कृषिसँग जोडिएको चिज सबै कुरा भूमिबाटै हुन्छ । उत्पादनका लागि कच्चा पदार्थहरु, खानेकुरादेखि लिएर अन्य कुराहरु कृषिबाटै प्राप्त हुन्छ ।


त्यसकारणले भूमिको सवाल उत्पादनका साधनसँग जोडिएको सवाल हो । यो पुँजी निर्माणको साधनको कुरा पनि हो । भूमि मानिसको पहिचानसँग जोडिएको सवाल पनि हो । म बाग्लुङको हुँ । बाग्लुङे भन्यो भने जहाँ गए पनि बाग्लुङे भनेपछि आफ्नो जस्तो लाग्छ । त्यो पहिचानको विषय पनि हो । भूमि हाम्रो संस्कृतिसँग जोडिएको छ । भूमि पूजादेखि लिएर अन्य धेरै सांस्कृतिक अभ्यासहरु छन् भूमिसँग जोडिएका । त्यसकारण यो हाम्रो संस्कृतिको विषय पनि हो । भूमि आफैमा अहिले पुँजीवादी स्वामित्व अन्तर्गत सम्पत्ति पनि हो । भने अर्कोतिर फेरि, भूमि हामीलाई मात्रै सम्पत्ति हो त ? भन्दा होइन । विनोद चौधरीको पनि अधिकांश उद्योगहरु ऋणले चल्या छ । त्यो ऋण केका आधारमा पाइन्छ ? ‘कोल्याटरल’का आधारमा । त्यो कोल्याटरल (धितो) कहाँबाट आउँछ त भन्दा, जमिन बिनाको कोल्याटरललाई मान्ने प्रणाली हाम्रो देशमा छैन । भनेपछि पुँजी निर्माणको, सम्पत्तिको स्रोत मात्रै होइन, पुँजी निर्माणको आधार पनि भूमि हो ।


भूमिको यस्तो बहुआयामिक महत्वका कारण यसमा सबैको अधिकार हुनु पर्दछ । समाजवादी आउटलुक मूलतः यही हो— भूमिमाथि सबैको अधिकार । हामी यही आधारभूत मान्यतामा टेकेर अगाडि जान जरुरी छ ।


नेपालको भूमि समस्या

अहिलेको भूमि समस्या के हो ? भूमि नहुने समस्या, भूमि भएर पनि लालपुर्जा नहुने समस्या । कहीँ कतै एक दुई टुक्रो जमिन छ, तर माथि पहाडको चाहिँ कुलपितृको नाममा एक टुक्रा राखेको छ, बाँकी बेचेर ऐलानी जग्गा किन्या छ वा ३०–४०–५० वर्षदेखि, औँलाले देखाए औलो लाग्छ भन्ने बेलादेखि तराईमा आएर आवाद गरेर बसेको छ । त्यसलाई तराईमा ऐलानी जग्गा भनिन्छ, पहाडमा पर्ति जग्गा भनिन्छ । त्यो जग्गा पुस्तौँदेखि कमाउनेहरुको नाममा स्वामित्व छैन ।

मध्यवर्ती क्षेत्रहरुमा पनि समस्या छन् । भूमि वर्षौंदेखि जोतभोग र उपयोग गरिरहेको छ तर स्वामित्व छैन । यस्ता खालका समस्याहरु छन् । गुठीसँग सम्बन्धित समस्याहरु छन्, करिब ११ भन्दा धेरै जिल्लाहरुमा । ललितपुर र केही ठाउँहरुमा बिर्ताका समस्याहरु छन् । अब गुठीको समस्या कस्तोसम्म छ भने, एउटा उदाहरण म यहाँ राख्छु, नापी गर्ने एउटा टोली दोलखा गयो तर त्यहाँको प्रधानपञ्च वा मुखियाले नापी टोलीलाई राम्रो सत्कार गरेन । उसले सिंगो एउटा गाउँ नै भीमेश्वर गुठी भनेर गोलो लाइदियो, पूरै गाउँ नै गुठीको नाममा गयो । भीमेश्वरको त्यो पसिना आउने भीमसेनको वरिपरिको धेरै ठूलो क्षेत्र नापीले गोलो लगाइदिए पछि पूरै गुठीको नाममा गएको छ । त्यतिबेला जग्गा नापी गर्दा नापी कर्मचारीको सनकका कारण पनि अहिले विद्यमान केही समस्याहरु निस्केका हुन् ।

२०२१ सालको भूमिसुधारको कुरा गरौँ । त्यो एउटा त कम्युनिस्टहरुको विस्तार हुँदै गरेको प्रभावलाई रोक्न भएको हो । वैचारिक रुपमा यति भनेपछि बुझिन्छ होला । यो सन्दर्भसँग तत्कालीन चीनको प्रभावदेखि अन्य विषयहरु जोडिन्छन् । अर्को भनेको जमिनलाई औपचारिक कर प्रणालीमा ल्याउन भएको थियो । त्यसकारण नेपाली जनताको भूमि समस्यालाई पूर्ण रुपमा समाधान गर्न यो भएको थिएन । तत्कालीन भूमि प्रशासनसँग पर्याप्त जनशक्ति पनि थिएन र गाम्भिर्यता पनि थिएन । नापीको टोलीले गाउँमा जग्गा नाप्दै गयो, साना साना घर नजिक नजिकै छन् भने, जस्तो असन जस्तो ठाउँ छ भने, नाप्न त टाइम (समय) लाग्छ । अब त्यो सिंगो गाउँलाई नै गोलो लगाइदियो र गाउँब्लकमा राखिदियो । त्यो जग्गामा मान्छेले जोतभोग त गर्दै आए तर व्यक्तिको स्वामित्वमा गएन, गाउँब्लक भयो । तराईमा धेरै समस्या छन् गाउँब्लकसँग सम्बन्धी ।
त्यसैगरी अन्य समस्याहरु हुन्‌ : बिर्ताको समस्या, मुक्त कमैया, हलिया, हरवा चरवाहरु र कमलरीहरुको सबैले भूमि पाउनुपर्ने हो तर पाइराखेका छैनन् । यी समस्याहरु साथै बालविटौरीको समस्या, मिन्नी–डिही जस्ता समस्याहरु छन् । धेरै समस्याहरु छन्, जसमध्ये कैयौँ शब्दहरु यहाँ मूलधारको छलफलमा कहिल्यै आउँदैनन् र हामीहरुमध्ये धेरैले सुनेका पनि छैनौँ ।


भूमि : नागरिक बनाउने बाटो

भूमिको महत्वबारे यति धेरै कुरा गरिसक्दा एउटा विशेष जोड दिएर भन्नुपर्ने कुरा छ । आजको समयमा कोही भूमिहीन छ भने उ धेरै चिजबाट बन्चित हुन्छ, बन्चितीकरणमा पर्छ । सिमान्तीकरण साथै बहिष्करणमै पर्छ । त्यसकारण त्यो नपरोस् भन्नका लागि भूमि समस्या समाधान हुन जरुरी छ । नहुँदा के हुन्छ ? लालपुर्जा नभएपछि नागरिकता बन्दैन । नागरिकता नभए पासपोर्ट हुँदैन, विदेश जान पाइएन । नागरिकता नभएपछि छोराछोरीको जन्मदर्ता हुँदैन । छोराछोरीको जन्मदर्ता नभएपछि स्कुल पढ्न जान पाउँदैन । नागरिकता नभएपछि बिजुलीको पानी जोडिँदैन, मोबाइल आउँदैन, खानेपानीको धारा जोडिँदैन, नक्सा पास हुँदैन । घर बनाउन लालपुर्जा नभएपछि नक्सा पास हुँदैन । खोप लाउन पनि, नागरिकता नभए खोप लाउन पाइँदैन । समस्याहरु व्यापक छन् । आजभोलि त ग्यास पनि पाइँदैन, हैन ? ग्यासको लाइनमा पनि नागरिकता लिएर जानु भन्ने छ । लालपुर्जा नभए नागरिकता पाइँदैन । भनेपछि यी सबै अधिकारबाट बन्चित हुने कुरा हो । त्यसैले बाहिरबाट हेर्दा भूमि समस्या साधारण देखिन्छ तर जसले त्यो भोगिरहेका छन्, दुःखको आयतन र गहिराइ व्यापक हुन्छ । एउटा बच्चा जन्मेको छ भने खोप उसको अधिकार हो तर उसले खोप लगाउन पाउँदैन । जन्मदर्ता हुँदैन । कस्तो पीडा हुन्छ ? तपाईँ कल्पना गर्न सक्नुहुन्छ त्यो पीडा ? हरेक मान्छेलाई भावुक बनाउने चिज छ ।


त्यसकारण जनताका यी न्यूनतम् अधिकारहरु सुनिश्चित गर्नका लागि लालपुर्जा आवश्यक छ । त्यसैले जो भूमि आयोग बनेको थियो, म पनि उपाध्यक्ष भएँ, सहायक मन्त्री सरहको सेवा सुविधा लिएँ, खाएँ । हामीलाई दिएको अधिकार भूमिहीनताको अन्त्य गर्ने अधिकार मात्रै थियो । भूमि समस्या समाधान गर्ने होइन । किनभने त्यो आयोगको अधिकार कति थियो ? चार आना जग्गा दिने । चार आनाले भूमि समस्या समाधान हुन्छ ? कसैले एक कट्ठा, दुई कट्ठा भोगचलन गर्या छ भने त्यति लालपुर्जा दिने । त्यसले भूमि समस्या समाधान हुन्छ ? एउटा किसानले चार आना वा एकै कट्ठा, दशै कट्ठा भन्नुस्, खेती गर्न खोज्या छ भने त्यो उसको समस्या समाधान हुन्छ त ? भन्दा हुँदैन, त्यो भूमि समस्याको समाधान होइन । त्यसोभए मैले तलब किन खाएँ त ? त्यसको एक मात्र उद्देश्य भनेको भूमिहीनताको अन्त्य गर्ने थियोे ।


भूमिहीनताको अन्त्य हुँदा कम्तिमा पनि सबै जनतालाई लालपुर्जा प्राप्त गर्ने आधार तयार हुन्थ्यो । लालपुर्जा प्राप्त गरेपछि नागरिकता प्राप्त गर्ने लगायतका यी नागरिक हुनुका कर्तव्यहरु र अधिकारहरुको उपयोेग गर्न सक्ने वातावरण तयार गर्न सकिन्थ्यो । यस अर्थमा भूमि आयोगमा हामीले गरेको काम जे छ, त्यो पनि महत्वपूर्ण छ । नागरिकलाई नागरिक बनाउने कोणबाट त्यो महत्वपूर्ण छ । बट द्याट इज नट इनफ । त्यो पर्याप्त छैन । र, त्यो भूमि समस्या समाधानको मूल बाटो भने होइन । यो विषयमा यति कुरा गरेपछि पर्याप्त हुन्छ जस्तो लाग्छ ।


अवास्तविक सुकुम्बासीको भ्रमपूर्ण न्यारेटिव

जब सुकुम्बासी बस्तीमा डोजर लायो मैले एउटा स्टाटस लेखेँ, “सुकुम्बासी बस्तीमा डोजर लाएकोमा समर्थन गर्नेहरुले मलाई फेसबुकबाट अनफ्रेन्ड गर्नुस् प्लिज” भनेर । थुप्रै मान्छेले मलाई अनफ्रेन्ड गर्दिए । किन ? उनीहरुलाई डोजर लगाउन ठिक लाग्यो । त्यो मात्रै होइन हाम्रो पार्टी कार्यालयमा बसिराख्या थिएँ । दुई जना महिला आएर, “सब कुराको विरोध मात्रै गरेर हुन्न, बालेनले गरेको यो काम एकदम ठिक छ हजुर, ठिक छ” भन्नुभयो । मैले उहाँहरुलाई राम्रोसँग जवाफ दिएँ । उहाँहरु धरधरी रुँदै जानुभयो ।


यो वर्ग दृष्टिकोणको सवाल हो । विचारधाराको युग अन्त्य भयो भन्ने डिस्कोर्सलाई कैयौं हामी कम्युनिस्टहरु, सोकल्ड कम्युनिस्टहरु, लेफ्टिस्टहरु, सोकल्ड प्रोग्रेसिभहरुले पनि बोकिराखेका छौँ । फेसबुकमा आउँछ ‘वास्तविक’ भन्ने । वास्तविक भन्ने केही पनि छैन । त्यो शब्द नै हामी प्रयोग गर्न चाहँदैनौँ । किन त भन्दा कानुनी व्यवस्था दुई किसिमको छ । जसको भूमि छैन वा भूमि भएको लालपुर्जा कहीँ पनि छैन, उसले भूमिहीन दलित र सुकुम्बासीको रुपमा निशुल्क जग्गा पाउँछ । कसैको कहीँ कतै लालपुर्जा भएको जमिन छ, उसले पैसा तिरेर पाउने हो कानुनअनुसार । अनि तपाईँको वास्तविक र अवास्तविक कहाँ छ ? सबैलाई निशुल्क दिने हो भने लालपुर्जा भएको चाहिँ अवास्तविक हुन्छ । लालपुर्जा भएको सम्बन्धी अलग्गै कानुनी व्यवस्था छ र उसले पैसा तिरेर पाउने हो ।


अहिलेको नियम जो लागु भइराखेको छ यसको आधारमा त नम्बरी जग्गा किन्ने भन्दा पनि बढी पैसा तिर्नुपर्ने व्यवस्था छ । कसरी भयो ? क्याटागोराइजेसन (वर्गीकरण) गर्दा ८% देखि २००% सम्म कर लिने व्यवस्था छ । त्यो कसरी बनाएको भन्दा सरकारी जग्गाको सरकारी मुल्याङ्कन एकदम कम छ भनेर बनाएको हो । तर युग त अघि बढिसक्या छ नि त सङ्घीयतापछि । किन युग बढ्या छ भनेर भन्दा, जनतालाई छोराछोरी कहाँ पठाउनु छ ? विदेश पठाउनु छ । अनि विदेश पठाउनु पर्ने भएपछि के गर्नु पर्यो ? भ्यालुएसन (मूल्याङ्कन) चाहियो । अनि गाउँको जग्गाको रोपनीको १० हजार २० हजार राखेर भ्यालुएसन आउँछ ? आउँदैन । जनतालाई भ्यालुएसन बढी चाहिया छ । अर्को के चाहिएको छ ? ऋण चाहिएको छ । ऋण पनि त्यो १०–२० हजार भ्यालुएसनले आउँछ त ? आउँदैन । भनेपछि १ लाखमा किन्ने जग्गाको भ्यालुएसन अहिले चाहिँ ९ लाख १० लाख छ । मेरो पनि त्यही हो । मैले गरेको त होइन । मेरो नि त्यही छ । मालपोतले त्यही गरेको छ । भनेपछि जनतालाई के भयो भन्दा भ्यालुएसन र बैंकमा राख्नका लागि फाइदा हुने भयो । स्थानीय तहको सरकारलाई पनि राजश्व आउने ठाउँ त अरु छैन ? त्यही तिरो हो । भ्यालु बढाइदिएपछि तिरो बढी आउँछ । यो सहमति जस्तैमा, कसैले विरोध गरेको छैन नि त, मूल्य धेरै माथि बढेको छ । अब १ लाखमा किन्न पाउने जग्गा छ, ९–१० लाख भ्यालुएसन छ । ५०% आयो भने कति आयो ? ५ लाख आयो भनेको किन्ने भन्दा नि ५ गुणा बढी मूल्य छ । त्यसैले यो गलत छ, यसलाई चेन्ज (परिवर्तन) गर्नुपर्ने लगायतका अहिलेको कानुनी व्यवस्थामा धेरै समस्या छन् ।

पछिल्लो अध्यादेशबारे


मध्यवर्ती क्षेत्र नेगेटिभ लिस्टमा छ । अध्यादेश आयो । हामीले विरोध गर्यौं । सबैभन्दा अगाडि मैले विरोध गरेको हुँ । साथीहरु भन्नुहुन्छः अध्यादेश माओवादीले सहयोग नगरेर लागु भएन । अध्यादेश लागु गर्न विपक्षीले सहयोग गर्नुपर्छ ? पर्दैन । लागु भएन भन्नुको अर्थ अध्यादेश गलत थियो । किनभने ३ लाख परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवार मध्यवर्ती क्षेत्रमा छन् । त्यसलाई निषेधित लिस्टमा राख्दिएपछि त्यो अध्यादेश काम लाग्छ ? कानुन भनेको घरको डायरी हो र, दिनदिनै फेर्नलाई ? अर्को वनको जग्गा र अरु जग्गाको कुरा छः सरकारीकरण गर्ने भनेर आएको थियो । त्यसको अर्थ भूमिहीन दलित र सुकुम्बासीलाई डोजर लाउने बाटो खोल्ने कुरा हो । अहिलेकाजस्ता सरकारी भँडुवाहरु भएका बेला त्यसको अर्थ के हो ? भूमिहीन दलित र सुकुम्बासी वन लेखेको वा निकुञ्जको वरिपरि मध्यवर्ती वा त्यस्तै अर्को ठाउँमा बसेका छन् भने सरकारी कायम गर्ने भनेको के हो ? बालेनका लागि त्यो भनेको डोजर लाउने भन्ने हो । यो खतरा हुन्छ । त्यसकारण यो चाहिँ १० वर्ष भन्दा अघिदेखि बसेका छन् भने एक पटकका लागि, जो बसिसकेका छन्, उनीहरुका लागि चाहिँ लालपुर्जा दिने व्यवस्था गर्नुपर्छ भनेर हामीले विरोध गरेका थियौँ । र, यो पनि बहाल रहेको वन वा निकुञ्जमा दिने होइन । एक पटकका लागि भनेको फेरि जनता वन फाँड्न नजाऊन् भनेर हो । त्यसैले यस्ता धेरै समस्याहरु छन् म अहिले त्यता धेरै जाँदिन किनभने प्राथमिक विषय पनि त्यो होइन ।


समाधान के ?

अब म समस्याको समाधान कहाँ हो भन्ने विषयतिर आउँछु । त्यतातिर जानुभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा विवाद र बहसको रुपमा रहेको एउटा विषय छ । त्यसलाई समातेर हामी अगाडि बढ्नुपर्छ । त्यो भनेको जनवादी क्रान्ति सम्पन्न भयो कि भएन भन्ने विवाद हो । अब हामी जसले भयो भन्ने विश्वास राख्छौँ, हाम्रो धारणा त्यसमा पनि म किसान संगठनको प्रतिनिधित्व गर्ने नेता र सुकुम्बासी संघको इन्चार्ज हुनुको नाताले हाम्रो दृष्टिकोण कहाँनेर हो भन्दा क्रान्तिको प्रश्न सत्ताको प्रश्नसँग जोडिएको हिसाबले हिजोको सत्ताको नेतृत्व परिवर्तन हुँदाखेरि क्रान्ति भयो । त्यो जनवादी क्रान्तिकै रुपमा, नौलो जनवादी क्रान्तिको रुपमा पूर्णता नपाए पनि, आफ्नै विशिष्टतामा त्यो कम्प्लिट (पूरा) भयो । तर, जनवादी क्रान्तिका दुईवटा कार्यभारहरु जो त्यसले गर्नैपर्थ्यो, ती पूरा हुन सकेका छैनन् । यहीँनेर हो विवाद । यो चाहिँ भयो कि भएन भन्ने विवाद ।
ती दुईवटा कार्यभार के हुन् ? एउटा कृषि क्रान्तिको कार्यभार, कृषिको रुपान्तरणको प्रश्न जसरी हुनुपर्थ्यो हल हुन सकेको छैन । दोस्रो भूमिसुधारको कार्यभार । भूमिसुधार पनि जनवादी क्रान्तिको कार्यभार हो आधारभूत रुपमा । तर त्यो सम्पन्न हुन सकेको छ त ? भन्दा सकेको छैन । सकेको छैन भने कसरी जनवादी क्रान्ति पूरा भयो त ?

के कृषि क्रान्तिको प्रश्न र भूमि सुधारको प्रश्न जनवादी क्रान्तिको मात्रै प्रश्न हो त ? होइन । यो समाजवादी क्रान्तिको प्रश्न पनि हो ।
जनवादी क्रान्ति अन्तर्गत हल गर्ने भूमि सुधारमा कृषि क्रान्तिको उत्पादकत्व वृद्धि गर्ने विषय छँदैछ । जनवादी क्रान्ति अन्तर्गत हल गर्ने भूमि सुधारको प्रश्नमा हामीले लालपुर्जाको कुरा उठाइराखेका थियौँ । त्यो भनेको निजी स्वामित्वको कुरा हो । हामीले त्यहाँ त्यसलाई स्वीकार गर्थ्यौँ । तर अहिले जसले जनवादी क्रान्ति पूरा गरिसकियो भनेको छ, उनीहरुले गर्नुपर्ने के हो त भन्दा कृषि क्रान्ति र भूमिसुधारको कार्यभारलाई समाजवादी क्रान्तिको रणनीति अन्तर्गत पूरा गर्नुपर्ने आवश्यकता छ । नभए के हुन्छ ? एक चरण भयो भने अगाडिको पनि ठिक । फेरि म समाजवादी क्रान्ति नहुँदै पनि सकिन्छ भने भूमिसुधार गर्नुपर्ने पक्षमा छु । तर त्यसरी हुने नै भयो भने दुईवटा भूमि सुधार गर्नुपर्छ । एउटा, लालपुर्जा दिएर भूमिलाई निजी स्वामित्व बनाउने । समाजवाद भनेको के हो ? निजी स्वामित्वको उन्मूलन हो । फेरि लालपुर्जा खोस्नका लागि (भूमिको राष्ट्रियकरणका लागि) अर्को भूमिसुधार गर्नुपर्छ ।

त्यसो हुँदा अहिले जान सकिने बाटो के हो त ? समग्र भूमिको राष्ट्रियकरण गर्ने नारासहित समाजवादी क्रान्तिको रणनीति अन्तर्गत भूमिसुधार गर्ने कुरा हो । र, भूमि समस्याको समग्र समाधान त्यो समाजवादी क्रान्तिको नारा अन्तर्गत, रणनीति अन्तर्गत रहेर गरिने भूमिसुधारले मात्रै पूरा गर्न सक्छ । म छोटोमा अब त्यो कसरी हुन्छ? भन्छु ।

पहिलो कुरा, आम भूमिमाथिको स्वामित्वलाई अन्त्य गर्ने, भोगाधिकार प्रदान गर्ने । लालपुर्जा हुँदैन तर उपयोग गर्ने कन्ट्रयाक्ट पेपर (सम्झौता पत्र वा भोगाधिकार पत्र) हुन्छ । त्यो भोगाधिकार निश्चित समयका लागि हुन्छ । चीनमा जनवादी क्रान्ति अन्तर्गत पनि भूस्वामित्व नै अन्त्य गरियो, त्यहाँचाहिँ भोगाधिकारको अवधि ७० वर्षका लागि छ । वनरसिप ट्रान्सफर हुँदैन । हामीकहाँ निजी स्वामित्वको अभ्यास गरेको हुनाले वनरसिप ट्रान्सफरको कुरालाई लैजान पर्यो, भोगाधिकारलाई लैजान (हस्तान्तरण गर्न) पर्यो भने पनि इन डिक्रिजिङ अर्डर (समय अवधिको घट्दो क्रममा) गर्न सकिन्छ । सबै भूमिको यो भूस्वामित्वको उन्मूलन गर्ने कुरा हो नि फेरि । एकथरीको कृषिभूमिको अन्त्य गर्ने, अरुको नगर्ने भन्ने छ, होइन । विनोद चौधरीको चाहिँ राखिराख्ने, अर्को किसानको चाहिँ गर्ने ? यस्तो हुन्छ र ? हुँदैन । सबैको गर्ने, तर भोगाधिकार दिने । निश्चित वर्ष तोकेर हुन सक्छः ७०−८० वर्ष भोगाधिकार दिने । जसलाई चाहिएको छ, चाहिनेलाई अधिकार दिइराख्ने अहिलेलाई । तर बेच्ने कुरा चाहिँ सिलिङ जो हो त्योभन्दा पछि नजाने, राज्यको हुने हिसाबले जाने गर्न सकिन्छ । अहिले चिनियाँ क्रान्तिको एउटा प्रश्नचाहिँ त्यो वनरसिपलाई कसरी ट्रान्सफर गर्ने भन्ने छ । चिनियाँ क्रान्तिको अहिलेको सबैभन्दा मुख्य प्रश्न यही भइराख्या छ किनभने भोगाधिकारको ७० वर्ष पुग्यो ।

यो गर्दाखेरि आवासको अधिकारः जो जसको घर छैन, आवासको स्वामित्व सहित मल्टिस्टोरी बिल्डिङ (बहुतले भवनजहरु) वा अर्को तरिकाले दिन सकियो । तर फेरि पहिलो चरणमा, अहिलेको चरणमा, चाहिँ भूस्वामित्वको मालिक बनाएरै भूमि (लालपूर्जा) दिने कुरा हो । यसरी सबैलाई आवासको समस्याको समाधान हुने बनाउने ।


त्यसपछि कृषि भूमिको कुरा । जसको जसले खेती गर्छ, उसले मात्रै कृषिभूमि प्राप्त गर्ने । लिजको आधारमा, एउटा कन्ट्रयाक्ट (सम्झौता) को आधारमा, भोगाधिकारको आधारमा प्राप्त गर्ने । हाम्रो देशमा ९ हजारभन्दा धेरै खोलानाला प्रणाली र अहिले उकास, निकास र विकास गर्ने जग्गाहरुको भूमिलाई जोड्यो भने लाखौं हेक्टर जमिन हामीले निकाल्न सकिन्छ । त्यो लाखौँ हेक्टर जमिनलाई प्राथमिकताका आधारमा पहिलो चाहिँ कम्युनहरु, सहकारीहरु, सामूहिक स्वामित्व वा भोगाधिकारका आधारमा उनीहरुलाई कन्ट्रयाक्टका आधारमा लिज आउट (भाडामा दिने काम) गर्दै जाने । उत्पादनका लागि दिने । जहिले खेती बन्द गर्यो, जमिन अर्कोको नाममा भोगाधिकार ट्रान्सफर (हस्तान्तरण) हुन्छ ।
अहिले जसको स्वामित्व छ, उसले खेती गर्दैन भने उसले कृषिभूमि कि त खेती गर्नेलाई बेच्न पर्यो, कि छोड्न पर्यो । यसबाट मात्रै भूमिको सवालमा उत्पादनको साधनको रुपमा जो अहिलेको अन्तर्विरोध छः आफ्नो जमिन छ, लालपुर्जा छ, जग्गा किनेको छ तर बाँझै पल्टाइदिएको छ, त्यो अन्तर्विरोधको हल हुन सक्छ ।


यसो गर्नलाई यसका दुइटा आधार हुन्छन् । एउटा सामाजिक न्यायको कुरा । अहिलेको पनि हुने त्यही हो । गरिबहरुलाई, भूमिहीन दलितहरु र सुकुम्बासीहरुलाई भूमि निशुल्क दिनुको अर्थ सामाजिक न्यायको कुरा हो । यो अव्यवस्थितहरुलाई शुल्क लिएर दिने कुरा उत्पादन वृद्धिसँग जोडिएको कुरा हो । समाजवादी क्रान्तिमा पनि त्यही कुरा होः सामाजिक न्याय र उत्पादकत्व वृद्धिसँग जोडेर दिने कुरा हो । यो दोस्रो कुरा ।
तेस्रो कुरा, अब अहिले भूमिसुधार भयो, यही व्यवस्था अन्तर्गत, लालपुर्जावाला व्यवस्था अन्तर्गत भने पनि यसका चारवटा कम्पोनेन्ट (प्रभाग) हुन्छन् । पहिलो, भूमि अधिकारको कुरा जो सामाजिक न्यायसँग जोडिएको छ । दोस्रो, भू उपयोगको कुराः कुन भूमि केका लागि प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण छ । भूमि एक्सटेन्सिबल छैन, बढाउन सकिँदैन । तेस्रो कुरा, भूउपयोग अन्तर्गत रहेर भूमिलाई व्यवस्थापन र उपयोग गर्ने कुरा । र चौथो कुरा, भूमि प्रशासनसँग जोडिएको कुरा । लालपुर्जाहरु कसरी हुने ? नापी कसरी हुने ? कर कति लाग्ने ? तिरो कति लाग्ने ? तिरोहरु कसरी लाग्ने ? डिजिटल हुने कुरादेखि सारा कुरा । यो चारवटा कम्पोनेन्टमा रहेर भूमिसुधार हुन्छ । अहिले गरिने पनि त्यही हो, समाजवादी क्रान्तिमा गर्दाखेरि गर्ने पनि त्यही हो । त्यसरी गर्न सकियो भने भूमिको समग्र समस्याको समाधान समाजवादी क्रान्तिको रणनीति अन्तर्गत रहेर वा जनवादी क्रान्ति नै भन्नुस् क्रान्तिकारी भूमिसुधारको मातहत हुन्छ ।


अहिले हामी जाने बाटो भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत जाने बाटो नै मूल बाटो हो । त्यसैले अहिलेका लागि समाजवादी क्रान्ति हाम्रो प्रमुख कुरा हो । त्यसलाई हासिल गर्न सक्यौँ भने हामीले भूमि समस्यालाई जरैदेखि समाधान गर्न सक्छौँ ।


म क्युवा गएर आएको थिएँ । थुप्रै कृषि भूमि बाँझै छ । अहिले त त्यहाँ डाक्टरहरु, इन्जिनियरहरु खेती गर्न गएका छन् । किसान सबैभन्दा प्रतिष्ठित छ । र, त्यहाँ थुप्रै जमिन अझै पनि बाँझो छ । किन बाँझो छ ? खेती नगर्नेले त्यो जमिन लिँदैन ।


यहाँ ’जमिन नै दिएर सकिँदैन, पुग्दै पुग्दैन’ भन्ने पनि होइन । कोही डाक्टर छ, इन्जिनियर छ भने किन चाहिँ खेत लिएर बस्छ र, बस्दैन । जो कृषि गर्न चाहन्छ, उसलाई कृषियोग्य जमिन दिने । जो कृषि गर्न चाहँदैन, उत्पादनसँग जोडिएर अर्को काम गर्न चाहन्छ, त्यसका लागि राष्ट्रिय पुँजीवादको विकास गरेर अवसरहरु प्रदान गर्ने । जसलाई त्यो दुई चिजमा चाहना छैन, उनीहरुलाई रोजगारीको व्यवस्था गर्ने । र, रोजगारी नहुने वृद्धवृद्धा र बालबालिकाहरुलाई सामाजिक सुरक्षाको कार्यक्रम अन्तर्गत उनीहरुको गास–बास–कपासको सुनिश्चितता गर्ने । यो नीतिका आधारमा हुने समाजवादी क्रान्ति र भूमिसुधार मात्रै भूमि समस्याको समाधान हो ।

(नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय भूमि आयोगका पूर्व उपाध्यक्ष खड्काले प्रगतिशील रुपान्तरण आन्दोलनद्वारा आयोजित बहस कार्यक्रममा व्यक्त मन्तव्य ।)

 

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari