info@bampanththeleft.com

Bampanth The Left

#

अनैतिक एआई : टेक्नो–फासिज्मको औजार

  • लाेकबन्धु घिमिरे

कृत्रिम बौद्धिकता : सभ्यताको सारथी
अलिपहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण आपसी व्यापार र इरान युद्धका मुद्दालाई केन्द्रमा राखेर गरिएको त थियो नै सँगै दुर्लभ खनिज आपूर्ति, एआई प्रविधी, सेमिकन्डक्टर (इलेक्ट्रोनिक चिप्स) बारे पनि थियो । बढ्दो चिनियाँ एआईहरुको विकास र यसको सैन्य तथा गैरसैन्य प्रयोजनले अमेरिका चिन्तित देखिन्थ्यो । खासगरी चिनियाँ एआई प्लाटफर्महरु अमेरिकीभन्दा प्रभावशाली, दक्ष, सस्ता र लोकप्रिय भैरहदा अमेरिकी सुरक्षा व्यवस्थामा अप्ठेरो थपिएको थियो । सायद यो समस्या सबैतिर आउछ नै । यसरी अबको एआई र डिजिटल सूचना (डाटा) उपभोग अर्थतन्त्रसँगै देशहरुको रणनीतिक सुरक्षा र भू–राजनीतिक शक्ति सम्बन्धसँग पनि जोडिदै गएकाले यो विषय बहुआयमिक हुदैछ भन्ने प्रष्ट देखिन्छ ।

फेरि भर्खरै सेप्टेम्बर–२०२६ मा ओपन एआईको हगिङफेस ह्याकरले कतिपय वेवपेजहरुमा अनाधिकृत पँहच पुर्‍याएका घटनाहरु पनि अगाडि आए । पत्रपत्रिकाहरुमा आएअनुसार यीनै एआईको गलत सूचनाले गर्दा चीन–अमेरिका युद्धबारे अड्कलबाजी पनि काटिए । यस्ता सामाजिक बहसहरुले के बताइरहेका छन भने यदि एआई मानवीय नियन्त्रण भन्दा बाहिर गयो भने यो सभ्यताको सर्वनासको कारण बन्न सक्छ । हो, यीनै एआई प्रणाली नियमनका वैश्विक ढाँचाहरुमा गम्भीर रुपले छलफल गर्न फेरि डोनाल्ड ट्रम्प र सी जिनपिगंको उच्च स्तरीय बैठक बस्दैछ पनि । यसैले ठुला डाटा सेन्टरहरु र एआई मोडलहरु अति नै नैतिकवान र पर्यावरणमैत्री बन्नु पर्छ भन्ने आवाज संसारभर निरन्तर उठिरहेको पनि छ ।

साठीको दशकताका शुरुआती चरणका कम्युटर विज्ञानमा कृत्रिम बौद्धिकता (एआई) का केही सफ्‌टवेर परीक्षण गर्दैगर्दा एआईका जन्मदातामध्ये जोन म्याकार्थी भन्ने गर्थे, “अब मेसिनले पनि मानिसहरुले जस्तै सोच्न, बुझ्‌न र व्यवहार गर्न सक्छन् । यी मेसिनले स्वचालित कार्यसम्पादन गर्न सक्छन् । यी मेसिन मार्फत मानव विहेभियर सिमुलेसन पनि हो जस्ले हुबहु मानव व्यवहार अनुकरण गर्न सक्छ । यस प्रकार एआईको उपयोगले श्रमिकहरुको कार्यदक्षता वृद्धि गर्दै औद्योगिक फर्महरुको उत्पादन लागत घटाउँछ र समाजका लागि वस्तु सस्तो बन्छ फलतः समग्र मानव सभ्यताको समृद्धि यात्रामा यो स्वचालित प्रविधी अत्यन्त भरपर्दो सारथी बन्दछ ।” म्याकर्थी सामाजिक तर्कमा आधारित (लजिक–बेस्ड) कृत्रिम बौद्धितकताका पक्षधर मानिन्छन् ।


एआई विकास हुने समयक्रममा न्यारो एआई, जनरल एआई हुदै आज सुपर एआईका रुपमा आएको छ । खासमा एआईले मेसिन लर्निङ, डीप लर्निङ र डाटासिट लर्निङ मार्फत तथ्य र परिवेश विश्लेषण गर्छ अनि मानिसलाई उचित निर्णय लिन सुझाउँछ । यसले प्रविधीलाई स्वचालित बनाउँछ र ज्ञान स्मरणको संरक्षण गर्छ । जसले आर्टिफिसियल न्यूरल नेटवर्क र एलगोरिदम मार्फत छिटो र तोकएको कार्यसम्पादन गर्छ । यसैले एआई मानव न्यूरल नेटवर्क जस्तै एक जटिल सम्मिश्रणको मेसिन प्रणाली हो । जहाँ एल्गोरिदम, डिजिटल न्यूरल नेटवर्क र मेसिन लर्निगं प्रारुपहरु अन्तरक्रिया गर्छन् । यही सिद्धान्तमा आजको जेनेरेटिभ एआई र एजेन्टिक एआई मानव बुद्धिमताले गर्ने (जस्तै, टेक्ट, इमेज, प्रोसेस आदि) सबै कार्यहरु स्व–सञ्चालन गर्न सफल छन् ।

नयाँ एल्गोरिदम मार्फत सामाजिक सन्जाल र मिडिया सञ्चालन, उत्पादन उद्योग र व्यवसाय सञ्चालन, अस्पताल सञ्चालनदेखि ह्युम्यानोइड रोबोटिक सञ्चालनबाट यतिबेला भौतिक रुपमा हुने मानव श्रम प्रतिस्थापन कार्यहरु दक्षताका साथ बढिरहेको देखिन्छन् ।
यसरी एआईले उद्योग क्षेत्रबाट दक्ष र अदक्ष श्रमिकको प्रतिस्थापन गरी उत्पादन लागत घटाएको छ भने सैन्य युद्ध) क्षेत्रमा स्वचालित ड्रोन, मानवरहित हतियार–रकेट र ठोस रणनीतिक आक्रमणका लक्ष्य भेदनजनित निर्णयहरु गरेको देखिन्छ । पहिले पहिले आणविक भण्डारणलाई देशको सामर्थ्यको रुपमा लिइन्थ्यो अबभने एआई पुँजी, सेमीचिप्स र डिजिटल डाटा भण्डारणमा जो अगाडी जान्छ उनै शक्तिशाली बन्छन् । किनकि इरान र युक्रेन युद्धले यो संकेत देखाइरहेको छ । यसैले ट्रम्पले भनिरहेका छन् अमेरिका र चीन मध्ये जसले एआईको दौड जित्छ, उही नै संसार हाक्ने सुपरपावर बन्छ ।

खासमा प्रविधीमा कृत्रिम बौद्धिकताको प्रयोग समस्त सभ्यता र मानवताको रक्षा गर्न, वस्तु उत्पादन बढोत्तरी र मूल्य किफायती गर्न, दुर्घटना जोखिम न्यून गर्न, सूचना–ज्ञान तथ्यांक संग्रह गर्न र श्रमबचत गरी असंख्य सामाजिक लाभहरु सृजना गर्नका लागि गरिएपनि हाल आएर केही कर्पोरेट ग्रुप र शक्तिशाली नाटो देशहरुले यसलाई सैन्यकृत, सुरक्षा रणनीति र जेनेसाइड (नरसंहार) हतियारका रुपमा प्रयोजन गरेका कारण आज एआई मानवता विरोधी, नरसंहारकारी र अनैतिक बन्दै गएको त होइन ? भन्ने प्रश्नहरु पेचिलो गरी उठेका छन् यतिबेला । जेनेभामा सम्पन्न यूएन एआई डाइलग समिट (२०२६) मा महासचिव एन्टोनियो गुटेरेसले एआई मानवता र नैतिकताको पक्षमा रहनुपर्छ भनेर जोड दिनु भएको यसैले पनि हो ।

विडम्बना, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोरो चाल चाल्दै पालान्टिर एआई प्लाटफर्मलाई आईसीईबाट आप्रवासी नियन्त्रण लिने, दमन गर्ने र थुन्नेमार्ने जस्ता हिंसात्मक कार्यहरुमा प्रयोग गरेपछि र इजरायलले लेबनान–प्यालेस्टिन (गाजा) मा आमनरसंहार मच्चाउन पनि यही प्लान्टीयर–एन्थ्रोपिक जस्ता एआई मोडेल उपयोग गरेको प्रमाणहरु बाहिरिएपछि यो प्रश्न जोडतोडले उठीरहेको छ– एआई कतै टेक्नोफासिज्मको औजार त बनिरहेको छैन ? अझ धनाढ्य एलन मस्कको ग्रोक एआईको सहायताबाट अमेरिकी सेनाले इरान युद्धमा एक स्कुलमाथि सटीक निसाना लगाएको तथ्य पनि बाहिर आएको छ । यसरी हेर्दा कथाचित समाजको सृजनात्मकताका लागि निर्माण भएका यस्ता एआई प्लाटफर्म यदि विध्वशांत्मक र फासिस्ट शक्तिका हातमा गए भने समस्त मानव सभ्यता नै मर्छ । यसैले कृत्रिम बौद्धिकता मानव सभ्यताको हितकारितामा प्रयोग हुनु बान्छनीय छ भन्दै नैतिक एआईको बहस जोडतोडले उठदै गइरहेको छ ।

के सिलिकन भ्याली मानवताको विपक्षमा छ ?
मानवतावादीहरु भन्दैछन्, “यतिबेला पश्चिमाहरुले अगाडी बढाइरहेको सिलिकन भ्याली अवधारणाको एआईले व्यावहारिक चेतना र कल्याणकारी दर्शन (नर्माटीभ फिलोसोफी) भित्र रहने सामाजिक ज्ञान विकासमा खासै योगदान गर्दैनन् ।” आमसमाजको अनुभव पनि यसैसँग मिल्दोजुल्दो छ– यी सिलीकन एआईले मानव सहयोगीका रुपमा काम गरेपनि मानव (जैविक) चेतना परिष्कारमा नैतिक नेतृत्व भने लिँदैनन् किनकि यहाँका सफ्‌टवेयरमा यी क्षमताहरु समाविष्ट छैनन् । (क) यी एआईमा समानतामूलक–प्रगतिशील सभ्यताको लागि आधारभूत विचार निर्माण गर्ने आवश्यक ज्ञान संश्लेषण विधी ‘सोक्रेटिक डायलग’ छैनन् (ख) यहाँका एआईमा वादविवाद र मन्थन (द्वन्द्वात्मकता) को उत्पे्ररक संयन्त्र राखिएको छैन अर्थात् यी मोनोलेक्टिक्स मात्रै छन् जसले मानिसलाई गधा जसरी काम लगाउन प्रोग्रामिङ गर्ने र एकहोरो आदेश दिने गर्छन् (ग) यी एआईले जैविक सोचाइको परिदृश्य विश्लेषण गर्न सक्दैनन् (घ) यहाँका एआईमा मेटा कग्निसन र विवेकशील विश्लेषणको अभाव रहनु जस्ता कारण यिनले रियालीटी एण्ड एक्जिस्टेन्सको ठोस निर्वचन गर्न सक्दैनन् र जसले सोसल ट्रूथ पनि फेला पार्दैनन् ।

यसरी सिलिकन एआईहरुको एथिकल र मोरल दायित्व नतोकिएको हुँदा यिनले सामाजिक भ्रम फैलाउने, डिप फेकलाई प्रश्रय दिने, पश्चिमा उपभोगवादी विचार विस्तार गर्ने, पुँजीपति वर्गको हितका लागि नवउदारवादी विचार बढावा गरी बजार (नाफा) कब्जा गर्ने र मानिसको व्यवहार नियन्त्रणको बढोत्तरीको कार्यलाई अस्त्रीकरण (एआई विपेनाइज्ड) शैली मार्फत विस्तार गर्ने गर्छन् । जसमा ओपनएआइ , एनभेडिया, मेटा, गुगल, माइक्रोसफ्‌ट, टेस्ला, अमेजन, एप्पल लगायत मुख्य आठ कम्पनीका एआई प्लेटफर्महरुलाई यस्तो आरोप लाग्न थालेको छ । खरबौ ग्यालेन भूमिगत पानी भण्डारण (करीब ४ बिलियिन घनमीटर पानी प्रतिवर्ष) पानी रित्याउदै डाटासेन्टर चिस्यान गर्ने, मिलीयन मेगावाट ऊर्जा प्रयोग गर्ने र ठूलो परिमाण कार्वनडाइअक्साइड उत्सर्जन (१२० मि,टनप्रतिवर्ष) गरी जलवायु मामिला (डिकार्बनाइजेसन) प्रति कम उत्तरदायी बनेको आरोप पनि यिनीहरुमाथि थपिदैछ ।

पालान्टीयर–एन्थ्रोपिक प्लाटफर्म : नरसंहारमा प्रयोग हुँदै
एआईलाई हार्डपावर बनाउनुपर्ने र बढदै गएको चिनीयाँ प्रभाव रोक्दै संसारभर अमेरिकी बर्चस्ववाद कायमै गर्न यस प्रविधीलाई सैन्यकरण गर्ने एआई वार डक्ट्रीनको पैरवी गर्दै पालान्टिर एआई प्लेटर्फमका सिईओ एलेक्स कार्पले जब बाइस बुँदे घोषणापत्र “टेक्नोलोजिकल रिपब्लिक”–२०२६ नामक किताब निकाले तब यसमाथि टेक्नो–फासिस्ट विचार बोकेको भन्ने आलोलना बढेर गैरहेकोछ । यसरी पालान्टिरको आलोचना गर्नेहरुमा भियना विश्वविद्यालयका प्रा. मार्क सेलेर्स्ग, विख्यात सोसल अनलाइन विज्ञ इलियट हिगिन्स र ग्रीक अर्थशास्त्री यानिस भारुफाकिस छन् । उनीहरुले कार्पको उक्त पालान्टिर घोषणापत्रले प्रजातन्त्र, स्वतन्त्रता र विश्वव्यापी मानवअधिकारको मूल्यमाथि ठाडै आक्रमण गरेको भन्नेछ । खासमा अनुदारवादी रिपब्लिक नेता पिटर थेलले सिआईएसँग मिलेर पालान्टिर सफ्‌टवेयर फर्म बनाएका हुन् जो डोनाल्ड ट्रम्पको श्वेत इसाइ वर्चश्ववादी (मागा) कार्यक्रमको डिजिटल रणनीतिको सहयोगी आयोजना हो ।

अमेरिकी काला नागरिक, आप्रवासी श्रमिक, बौद्धिक समालोचकहरु, अनुसन्धानकर्ता–वैज्ञानिकहरु, शिक्षक–प्राध्यापक–डाक्टरहरु र अनुदारवाद, फासिवाद, सर्वसत्तावाद विरोधी फरक विचार बोक्ने प्रगतिशील राजनीतिज्ञ समूह–तप्काहरुको सबैखाले सार्वभौम डाटा जस्तै, सोसल मिडिया क्रियाकलाप, इमेल, डिजिटल आइडिया, फिंगरप्रिन्ट, बायोमेक्ट्रिक, सोसल व्यवहार, राजनीतिक प्रतिक्रियासहित समग्र भौतिक–अभौतिक तथ्याङ्कहरु माथि यसै पालान्टिरले गैरकानुनी पहुँच कायम गर्दै यी नागरिकहरुको स्वतन्त्रतालाई पछ्याउने, अनुगमन–निगरानी गर्ने र नियन्त्रणमा राख्ने कार्य गर्न सघाउँछ भनिएको छ । यस्तो कार्य अमेरिकी संविधानवाद, यूएन मानवअधिकार घोषणापत्र र विश्वव्यापी स्वतन्त्रताको मौलिक हक विरुद्ध हो भन्ने छ । उस्तैगरी एन्थ्रोपिक ल्काउडी कोडिङ एआई पनि डरलाग्दो सैन्यप्रविधीका रुपमा भित्रिएको छ, जो नागरिकका बैंकिङ र अन्य डाटामाथि अनाधिकृत नियन्त्रण गरी मानिसहरु उपर चौबिसै घण्टा प्रभावशाली निगरानी गर्न सक्छ । त्यसैले अति शक्तिशाली एन्थ्रोपिकको मिथोस–५ लाई अमेरिकी सरकारले पुरै आफ्‌नै पहुँचभित्र राख्न खोज्दैछ ।

बढदो सार्वभौम डाटा नियन्त्रण र स्वतन्त्रतामाथि निगरानी
सन् २००३ मा स्थापना भएतापनि यतिबेला बढी चर्चामा आएको यो पालान्टिर एआईले तीनवटा प्लेटर्फम प्रयोग गरी तथ्यांक विश्लेषण गर्छ । यसका ग्राहकहरुमा अमेरिकी सरकार, सिआईए, आइसीई त भए नै अझ इजरायलको युद्धविभाग र मोसादसँगै बेलायतको सरकारी एनएचएस–स्वास्थसेवा विभाग एवं थप धेरै युरोपेली सार्वजनिक संस्थाहरु पनि पर्छन् । निजी प्रयोगकर्ता कम्पनीहरुमा हेनकेन, वालग्रीन, डेल्टा एअर आदि छन् । यिनका लागि पालान्टिर एआईको एमपीसी–६ भर्सनले इन्टेलीजेन्ट इन्टरफेस अवधारणामा आधारित लार्ज लेङबेज मोडल (एलएलएम)को टेक्स्ट कोडिङ र ट्रान्सलेसन विधी विश्लेषण मार्फत जासुसी गर्दै निशानामा पारिएका व्यक्ति वा समूह (जसलाई यसले दुश्मन मान्छ) को वैयक्तिक डाटामा पहुँच पुर्‍याउँछन् जो सार्वभौम डाटामाथि गरिने अनैतिक, अवैधानिक एवं गलत निगरानी हो र यो लोकतन्त्र र स्वतन्त्रताको बर्खिलाप पनि छ ।

यी कार्यहरु सम्पन्न गर्न पालान्टिरले गोथाम, फाउण्ड्री र एपोलो एआई भर्जन प्रयोग गर्छ । यी तीनैवटा एप्सले व्यक्तिगत, समूहगत वा संस्थागत रुपमा यत्रतत्र छरिएर रहेका डिजिटल तथ्यांकहरुलाई सर्वप्रथम एकत्रित गर्छन् अनि स्प्रेडसिट–डटाबेस–सेन्सरलाई न्यूरल कार्यप्रणालीमा जोडदै खोजी गरिएको परिदृश्यको ओन्टोलोजी म्याप (जीवन्त न्यूरल नक्सा) बनाइदिन्छन् जसबाट निर्णयकर्तालाई उचित निर्णय लिन तत्काल (रियलटाइम) सहयोग गर्छन् । इजरायलले गाजामा यसैगरी मानिसहरुको सूचना एकत्रित गर्दै नरसंहार गरेको तथ्य बाहिरिएको थियो ।

पालान्टिरको कार्य व्यवस्थाको उदाहरण हेरौ : जस्तै, एक बिरामी लक्षित निगरानी । यदि कुनै मानिस बिरामी छ उ अस्पताल, डाक्टर निरन्तर फलोअप गर्छ अब उस्का यी सबै डाटाहरु जोडदै र उक्त व्यक्तिको जन्मदर्ता, अस्पताल, ब्लडग्रूप, डिएनए, डाक्टरको नाम, भेटघाट, नर्सको नाम, उपचार पद्धति र औषधी जस्ता यावत डाटाहरु उक्त एप्सबाट एकत्रित (डाटाहरु गहन उत्खनन) गर्दै तत्कालै उसको लोकेसनसहित ओन्टोलोजी म्याप बनाउँछ । अब निर्णयकर्ताले सो व्यक्ति (यो एपले दुश्मन भन्नेलाई) बारे गर्ने के हो ? तत्काल निसाना गर्छन् । वा जे गर्ने हो ? सो गर्छन् ।

यसरी पालान्टिरले जासुसी गरी युद्ध अहंकारी, तानाशाह शासक, फासिस्ट सशस्त्र बलहरुलाई रियलटाइम एक्सन लिन सघाइरहेकोले यो मानव स्वतन्त्रताका लागि ज्यादै घातक रहेको भनिएको हो । यस्तै कार्य एन्थ्रोपिकले पनि गर्छ जो क्लाउडी एआई मार्फत अमेरिकी सरकारलाई पर्याप्त वैयक्तिक डाटाहरु दिने गर्छ । यी दुबै एआई प्लेटफर्म आम नरसंहारका सहयोगी औजार भएका देखिन्छन् ।

एआईको फाँसीवादउन्मूख यात्रा रोकौं
प्रोग्रेसिभ इन्टरनेसनल (अप्रैल–२०२६) अंकमा ह्यारी हाल्पिनको आलेखले भन्छ खासमा पालान्टिर जस्ता एआईलाई अमेरिका–युरोपेली सरकार, धनाढ्य पुँजीपति र टेक जायन्टको संयुक्त प्रोजेक्ट टेक्नो–इम्परेलिज्मको औजार बनाउने तरखरमा छन् । साइबर कोलाेनियलिज्मको विचार मार्फत उनीहरुले के प्रष्ट सन्देश दिएका छन भने अब डेढसय ग्लोबल साउथ देशहरुको साइवरस्पेश यी टेक्नोजायन्टका पन्जाबाट उम्कन सक्दैन । उनीहरु वैश्वीक ज्ञान, सिर्जना, वस्तु, बजार र विचारलाई यही साइबर फिसिङमा पार्दै जाने र साना तथा कम विकसित देशको डिजिटल सार्वभौमिकता नियन्त्रण गर्ने सोचका साथ काम गर्दै पनि छन् ।

अझ टेस्ला, माइक्रोसफ्‌ट र गुगल कम्पनीहरु अफ्रिका, लेटिना र ग्लोबल साउथको दुर्लभ खनिजस्रोतहरुमा सर्भिलेन्स मार्फत आँखा गाडदै छन् । हल्पीनको विचारमा यदि यस्तो डिजिटल सार्वभौमिकता सिलीकन भ्यालीबाट बाहिर निकालेर स्थानीय सरकार र स्वदेशी सरकारकै हातमा लैजान सक्नु पर्छ अन्यथा टेक्नो–इम्परेलिज्मले ग्लोबल साउथका साना र गरीब देशहरुलाई थाहा नपाई नपाई यसरी नियन्त्रण गर्छ र गाजा जस्ता धेरै नरसंहारहरु दोहरिन सक्छन् ।

चिनीयाँ एआई (जस्तै, अलिबाबा, डिपसिक आदि) को विकास जसरी सभ्यताको सृजनात्मक सारथीका रुप्मा गरिदैछ त्यसरी पश्चिमा एआई प्रयोग भएनन् भने यो फासिवादको यात्रामा बढछ र युद्धउन्मादी जोखिमहरु सर्वत्र फैलिन्छन् । खासमा इटालीका शासक बेनिटो मुसोलिनीले (१९२१) ल्याएको फासिवादी विचारले नेसन–स्टेट करारमा स्टेट नै सबैथोक हो भनेका छन् । व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्र र उदारवाद–समाजवादले नागरिकको भलो गर्दैन, अतः राइट अफ स्टेट (राज्यको अधिकार) भित्र नै नागरिक समर्पित बन्नुपर्छ भन्ने सन्देश दिन्थे उनी ।

फासीवादले हमेशा नागरिक दोस्रो हो भन्छ र राज्य पहिलो भन्छ, जो भाष्य गलत हो । ठ्याक्कै एलेक्स कार्पको एआई वार ड्रक्टीनले पनि आज शक्तिशाली स्टेट, सैन्यवाद र फासिवादको पुनर्मिलन खोज्छ जो झनै महागलत हो । यो नेसन–स्टेट करारको सिद्धान्त विपरीत पनि छ । सर्वसत्तावादी राज्यले नागरिकलाई जहिल्यै बक्रदृष्टि लगाउँछ । यसैले आजको उदारवाद–समाजवादले स्वीकार गरेको लोकतन्त्र र सार्वभौम नागरिक प्रथम भन्ने सर्न्दभ मनन गरी सबैखाले कृत्रिम बुद्धिमताका प्लाटफर्म, सफ्‌टवेयर, प्रविधी र डिजिटल औजारहरुलाई लोकतन्त्र, स्वतन्त्रता, उत्पादनसिर्जनाको नैतिकता (इथिकल कल्चर) प्रवर्धन गर्ने र मानव सभ्यताको सारथीका रुपमा अघि बढाउने नीति बहसमा हामीहरु लागौं । साथै हाम्रा सार्वजनिक नीति निर्माताहरु, समग्र बौद्धिक जगत, सांसद तथा जनप्रतिनिधीहरुले पनि राज्य प्रायोजित डिजिटल मास सर्भिलेन्स एण्ड कन्ट्रोल (स्वतन्त्रताको निगरानी–कब्जा) बढाउने कुत्सित फासिवादउन्मुख एआई नीतिहरु बन्न नदिनेतर्फ सचेत पनि बनौं ।

 

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari